काठमाडौं : चलचित्र ‘च च हुई’ को पोस्टर सार्वजनिक भएको छ । ‘हजार जुनीसम्म’ फिल्मबाट प्रसंसा बटुलिरहेका आर्यन सिग्देलले यो फिल्मबाट अझै बढी दर्शकको मन जित्ने दाबी गरेका छन् ।

चलचित्रमा आफ्नो भूमिका विदेशबाट देश र राष्ट्रियता सम्झेर देश फर्किने युवाका रुपमा रहेको भन्दै युवाको देशप्रेमलाई चलचिमा समेटिएको बताए । सिग्देलले भने, ‘फिल्मको पोस्टर हेरेर नै धेरै कुरा थाहा पाउनुहुनेछ । त्यसमा पनि मेरो भूमिका देश र राष्ट्रियता सम्झेर स्वदेश फर्किएको युवाका रुपमा छन् । अभिनयमा मैलै राम्रो मेहनत गरेको छु । बाँकी तपाईंहरुले हेरेर मूल्यांक गर्नुहोला ।’

सार्वजनिक पोस्टरमा आर्यनलाई फ्रेस देख्न सकिन्छ । उनको साथमा को-स्टार मिरुना मगर र भोलाराज सापकोटा फिचर्ड छन् । सार्वजनिक पोस्टरमा आर्यनले मिरुनालाई पाउन खोजेका छन् भने उनलाई भोलाले सम्हाली रहेकाछन् । अर्कोमा माओत्से गुरुङ सहित यही चियाई रहेको देख्न सकिन्छ । पोस्टरमा फोटोग्राफी श्रीधर पौडेलको छ भने यसलाई टौवा क्रिएसनका विजय बश्याल र शान थापाले डिजाइन गरेका हुन् । मङ्सिर ६ मा रिलिज हुने फिल्म रम-कम अर्थात रोमान्टिक कमेडी जनरमा तयार भएको हो भने यसलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् । व्यवसायी घोले यसै फिल्म मार्फत निर्माणमा आउंदैछन् ।

चलचित्रका निर्देशक साम्तेन भुटियाले यो पटक कमर्सियल फिल्म बनाउने कोसिस गरेको भन्दै यो चलचित्र रोमान्टिक कमेडी रहेको बताएका छन् । चलचित्रबारे जानकारी दिँदै उनले भने, ‘मैले निर्देशन गरेको पछिल्लो फिल्मको तुलनामा टोटल यो फरक छ । आर्यनलाई हामीले उनलाई सुहाउने क्यारेक्टरमा प्रस्तुत गरेका छौ । दर्शकले आर्यनको रोमान्टिक र कमेडी अवतारमा दर्शकले देख्न हुनेछ । ’