इटहरी: नेपाली कथानक चलचित्र ‘मारुनी’ यहि भाद्र १३ गतेबाट देशैभरीका हलमा प्रदर्शन हुने भएको छ ।

बुधबार इटहरीमा पत्रकार सम्मेलन गर्दै निर्देशक नवल नेपालले १३ गतेबाट देशैभरीका हलमा प्रदर्शन हुने जानकारी दिए । उनले भने,‘सिनेमा बनाउँन गाह्रो छ, बर्ष दिनको मिहिनेतले २ घण्टाको सिनेमा बनाउँनुपर्छ, त्यो आम मानिसमा पुर्याउन झन् कठीन हुन्छ ।’ उनले पछिल्लो समय नेपाली चलचित्रको अवस्थाबारे बजारमा पुर्याउन नसक्नुले चलचित्र क्षेत्र खच्किदैं गएको बताए ।

चलचित्रमा पुष्प खड्का र सम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य पात्रको रुपमा उभिएका छन् । ५२ दिन लगाएर खिचिएको चलचित्र कोहलपुर, भैरहवा, नेपालगञ्ज, काठमाडौँ लगायतका ठाउँमा सुटिङ गरिएको बताइएको छ । चलचित्रकी निर्माता पुनम गौतमका अनुसार आफ्नै घर र समाजमा भईरहेको घटनालाई पात्र बनाएर चलचित्र निर्माण गरिएको हो । ‘हामीले घर समाजको घटना नियालेर यो चलचित्र निर्माण गरेका हौं,’ उनले भनिन् । उनले चलचित्रको लागत बारे बोल्न चाहिनन् ।