बलिउडका स्थापित निर्देशक सञ्जय लीला भन्सालीको निर्माणाधीन फिल्म ‘इनसाअल्लाह’बाट सलमान खानले हात झिकेको चर्चा भारतीय मिडियामा छाएको छ । सलमान र आलिया भट्टलाई मुख्य भूमिकामा राखेर सेप्टेम्बर अन्तिमबाट सुटिङको तयारी गरिएको फिल्मबाट सलमानले हात झिकेपछि फिल्म निर्माण केही समयलाई अनिश्चित भएको छ ।

सलमान ‘इनसाअल्लाह’बाट टाढिएपछि उनको ठाउँमा चर्चित अभिनेता शाहरूख खानले अभिनय गर्ने भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । केही कुरामा सहमति हुन नसकेपछि सलमान र भन्सालीबीच सहकार्य टुटेको बताइए पनि अभिनेत्रीका रूपमा आलिया नै रहने पनि उल्लेख गरिएको छ ।

निर्देशक भन्सालीले सलमानले फिल्म छोडेपछि शाहरूखलाई प्रस्ताव गरेको र फिल्मका लागि शाहरूखलाई हस्ताक्षर गराइसकेको भारतीय मिडियाले उल्लेख गरेका छन् । शाहरूख खानले सञ्जय लीला भन्सालीको फिल्म ‘देवदास’ मा सहकार्य गरेका थिए । जुन निकै चर्चित भएको थियो ।