धरान : निर्देशक शिशिर राणाद्वारा निर्देशित फिल्म "पोइ पर्‍यो काले " को पोस्टर सार्वजनिक गरेको छ । तिहारको विदा लक्षित गर्दै कात्तिक ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको पोस्टरमा प्रमुख कलाकारहरु सौगात मल्ल, पूजा शर्मा, आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ र सोहित मानन्धर प्रस्तुत छन् । सबै एक सोफामा आ(आफ्नो स्टाइलमा बसेका छन् ।

गएको केही महिना अगाडि निर्माण टिमले फिल्मको पोस्टरका लागि अभिनेत्री पूजा शर्मालाई दुहली र अभिनेता सौगात मल्ललाई दुलहाको भेषमा फोटोसुट गराएको थियो । ती तश्वीरहरु बाहिर आएपछि दर्शकमा फिल्मप्रति कौतुहलता र उत्सुकता जागृत भएको थियो । तर, आइतबार सार्वजनिक गरिएको पोस्टर सामान्य छ ।  यो फिल्मको मुल कथा अभिनेता सौगातको वरिपरि घुमेको छ । फिल्ममा उनको जोडी पूजा हुन् वा सृष्टि भन्ने रहस्यको निर्माण टिमले घुम्टो उघारेको छैन । निर्देशक राणा यसको खुलासा फिल्म हेरेपछि हुने बताउँछन् । फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् । फिल्ममा राजिव गुरुङ र सरोज नेपालीको लगानी छ ।

अमलादेवी राई फिल्मकी कार्यकारी निर्माता हुन् । अभिनेता सौगात फिल्मलाई कमेडी कथामा निर्माण भएको बताउँछन् । फिल्म हेर्दा दर्शकले पूर्ण मनोरञ्जन लिने उनको भनाई छ । नायिका श्रृष्टि फिल्ममा पूजाको साथीको भूमिकामा छिन् । आकाशको निर्देशक राणासँग यो दोस्रो सहकार्य हो । यसअघि ‘तिमीसँग’ मा टिमअप भएको थियो ।