काठमाडौँ: नेपाल टेलिकमले दसैं अघि सबै महानगर र उपमहानगरपालिकामा फोरजी सेवा शुरु गर्ने भएको छ ।

टेलिकमले सबै महानगर, उपमहानगरसहित कम्तीमा २० सहरमा यो सेवा शुरु गर्ने तयारी गरेको हो । टेलिकमले आगामी माघ मसान्तसम्म फोरजी सेवा देशैभर विस्तार गर्ने समाचार इकान्तिपुरले प्रकाशन गरेको छ । टेलिकमले अघिल्लो वर्ष माघ २० मा फोरजी विस्तारको लागि ठेक्का सम्झौता गरेको कान्तिपुरले जनाएको छ ।

फोरजी विस्तारको काममध्ये कोर नेटवर्क विस्तारको जिम्मा पाएको चिनियाँ कम्पनी जेडटीईले आफ्नो काम करिबकरिब पूरा गरेको छ। कोर नेटवर्क भनेको टेलिकमको आफ्नै बीटीएस टावरबीच सम्पर्क स्थापित गर्ने प्रणाली हो। कोर प्रणालीको परीक्षण गर्न टेलिकमले शनिबार राति साढे ११ बजे आफ्नो सिस्टम अपग्रेड गरेको थियो। उक्त अपग्रेड सफल भएको टेलिकमले जनाएको छ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले दसैंअघि कम्तिमा २० प्रमुख सहरमा फोरजी विस्तारको तयारी भएको बताए । उनका अनुसार सुरुमा सबै महानगरपालिका, उपमहानगरपालिका र धेरै जनसंख्या भएका नगरपालिकामा फोरजीको व्यवसायिक सेवा सुरु गरिनेछ । नेपालभर ६ महानगर, ११ उपमहानगर र २ सय ७६ नगरपालिका छन्।

हाल नेपाल टेलिकमको फोरजी सेवा काठमाडौं उपत्यका र पोखरामा मात्रै उपलब्ध छ। एनसेलको भने दुई दर्जन बढी सहरमा फोरजी सेवा पुगेको छ। नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार असारसम्ममा टेलिकमका फोरजी सेवा तर्फका ग्राहक ८ लाख पुगेको छ भने एनसेलको सोही सेवाका ग्राहक २९ लाख ३० हजार भन्दा बढी छन्।