धरान: सुनसरी उद्योग वाणिज्य संघ धरानको निर्वाचन सकिएको महिनौं बितिसक्यो, तर उक्त निर्वाचनमा भएको हारजितको तरंग अझै सेलाएको छैन ।

खास गरी संघको अध्यक्षमा पराजित उम्मेद्वार विजय श्रेष्ठलाई आफ्नै नेवार जातिका व्यक्तिहरुले नसघाएको भन्ने बिषयले अझै पनि सेलाएको छैन । हिजो सोमबार नेवार एकता समाजको तेस्रो अधिवेशनमा पनि यो प्रसंग उठेको थियो । समाज नेवार जातिको एकता, उत्थान तथा हकहितको लागि गठन भएकोले प्रंसग उठ्नु स्वभाविक थियो । तर, त्यहाँ निवर्तमान अध्यक्ष विशाल श्रेष्ठले व्यक्त गरेको अभिव्यक्तिलाई लिएर आज २ वटा संस्थाले प्रेश वक्तव्य जारी गरेपछि यो बिषय झन् पेचिलो बनेको छ । ती संगठनले निवर्तमान अध्यक्ष श्रेष्ठले उवा संघको निर्वाचनमा गिरीधारी सापकोटालाई सघाएको बिषयमा समाजका आजिवन सदस्य अशोक ताम्राकारलाई सामाजिक बहिष्कार गर्नुपर्ने अभिव्यक्ति दिएको भन्दै सार्वजनिकरुपमा माफी माग्न पनि माग गरिएको छ ।

श्रेष्ठको अभिव्यक्तिलाई लिएर नेपाल लोकतान्त्रिक नेवा संघ, धरान उपमहानगर समितिका अध्यक्ष गणेशबहादुर प्रधान र एकीकृत नेवाः राष्ट्रिय मुक्ति मोर्चा, धरान उपमहानगर समितिका अध्यक्ष लेखराज श्रेष्ठले संयुक्त प्रेश विज्ञप्ती जारी गरेका छन् । दुवै संगठन नेकपा निकट हुन् । विज्ञप्तीमा निवर्तमान अध्यक्ष विशाल श्रेष्ठले दिएको अभिव्यक्ति प्रति गम्भिर ध्यानाआकर्षण भएको जनाइएको छ । साथै, कांग्रेस निकट नेवार समुहका केही व्यक्तिहरुले समाजलाई कांग्रेसको जातीय भातृ संगठन बनाउन खोजेको भन्दै भत्सर्ना पनि गरिएको छ ।

निवर्तमान अध्यक्ष श्रेष्ठकै पालामा उवासंघको अघिल्लो निर्वाचनमा कांग्रेस समर्थनका उम्मेदवार राजेन्द्र साहलाई सघाएको भन्दै विज्ञप्तीमा कसैलाई समर्थन गरे नगरेको आधारमा सामाजिक बहिष्कार गर्न नमिल्ने उल्लेख छ । ‘कांग्रेसी निकट नेवार समुहका केही व्यक्तिहरुले नेवार एकता समाजलाई नितान्त कांग्रेसको जातियभातृ संगठन बनाउन खोजेको हुँदा उक्त कार्यको हामी घोर भत्र्सना गर्दछौं,’विज्ञप्तीमा उल्लेख छ,‘ पछिल्लो उवासंघको निर्वाचनमा गिरीधारी सापकोटालाई सर्मथन गरेको आधारमा असोक ताम्राकार लाई सामाजिक बाहीस्कार गर्न मिल्छ । यदी मिल्छ भने राजेन्द्र साहलाई समर्थन गरेको विषयमा विशाल श्रेष्ठलाई बाहिष्कार गर्ने कि नगर्ने ? के नेवार एकता समाजको उद्देश्य गैर नेवार जाती र समुदायको विरोध गर्नु हो ?’

समाजका निवर्तमान अध्यक्ष विशाल श्रेष्ठले भने आफुले सामाजिक बहिष्कार गर्ने कुरा नगरेको दाबी गर्दै विज्ञप्ती जारी हुनु ज्यादै दुःखद भएको प्रतिक्रिया दिए । उनले जातीय संस्था एवं संगठनमा जातीय सामुहिक एकता, हकहितको कुरा नै हुने भएकोले आफुले पनि सोही अनुसार उवा संघको चुनावको प्रसंग निकालेको बताए । ‘चुनाव हुँदा म दिल्लीमा थिएँ, तर फेसबुकमा पोष्ट, कमेन्टहरु हेरिरहेको थियो,’उनले कपुरीन्यूजसँग प्रतिक्रिया दिदै भने,‘मैले अशोक ताम्राकारको नाम लिएको हुँ, तर सामाजिक बहिष्कारको कुरा गरेको होइन । मैले उवा संघको चुनावको कुरा सुने, त्यसो हो भने राम्रो भएन । सबै एक हुनुपर्छ, जातीय एकता हुनुपर्छ भनेको हो । समाजको आन्तरिक कार्यक्रम भएकोले यसो भन्नु बेठिक पनि होइन, अहिले विज्ञप्ती आएको सुन्दा दुःख लाग्यो ।’

निवर्तमान अध्यक्ष श्रेष्ठले समाज र आफ्नो अभिव्यक्तिलाई राजनैतिक पुर्वाग्रही भएर नहेर्न पनि आग्रह गरे । उवा संघको अध्यक्षमा नेकपा निकटका सरोज श्रेष्ठलाई पनि सघाएको प्रसंग खुलाउदै उनले अहिले विजय श्रेष्ठलाई चै किन नसघाइएको भन्ने कुरा मात्र राखिएको बताए । सुनसरी उवा संघको निर्वाचनमा नेकपा समर्थित उम्मेद्वार गिरीधारी सापकोटा विजयी भएका थिए भने कांग्रेस समर्थन रहेको विजय श्रेष्ठ पराजित भएका थिए । निर्वाचनमा उवा संघकै पुर्वअध्यक्ष अशोक ताम्राकारले सापकोटालाई सघाएका थिए । त्यसबेला देखि नै नेवार जातिका केही व्यक्ति, समुहले ताम्राकारलाई चर्को आलोचना गर्दै बहिष्कार गर्नुपर्ने लगायत आवाज उठाउदै आएका थिए । ताम्राकार नेकपा पक्षधर हुन् ।