सुनसरी:राष्ट्रिय च्याम्पियन रशिला महर्जन योनेक्स सनराईज नवौं पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिता २०७६ को तीन उपाधी निकट पुगेका छन् ।

नेपाल खेलकुद महासंघ निकट राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा राष्ट्रिय च्याम्पियन रशिला महिला एकल, महिला युगल र यु १७ गरि तीन विधाको उपाधी निकट पुगेकी हुन् । सेनाकी रशिलाले महिला एकलमा सातौं संस्करणकी विजेता जेशिका गुरुङ्गलाई २१-१७, १८-२१, २१-१३ ले तथा छात्रा यु १७ तर्फ राजधानी युथ क्लब मोरङ्गकी रोज पाण्डेलाई २१-९, २१-१६ ले पन्छाउँदै उपाधी निकट पुगेकी हुन् ।

अब महर्जनले उपाधीका लागि महिला एकलमा अघिल्लो संस्करणकी विजेता नङ्गशल देवी तामाङ्गसंग प्रतिस्पर्धा गर्ने छिन् । रशिला अघिल्लो संस्करणमा सेनाबाट प्रतिनिधित्व गरेकी तामाङ्गसंगनै पराजित भएकी थिईन् । अहिले भोजपुरबाट खेलेकी तामाङ्गले राजधानी युथ क्लब, मोरङ्गकी सिमा राजबंशीलाई २१-१७, २१- १२ ले पराजित गर्दै फाईनल यात्रा तय गरेकी हुन् ।

यसै गरि महिला युगलमा रशिलाले सेनाकी रञ्जना भट्टसंग मिलेर बाँकेकी संझना शर्मा र मोरङ्गकी सिमा राजबंशीको जोडीलाई २१-१५, २१-१७ ले पराजित गर्दै फाईनलमा एपिएफका जेशिका गुरुङ्ग र पुजा श्रेष्ठको जोडी संगको भेट पक्का गरिन् । जेशिका र पुजाको जोडीले सेनाका अमिता गिरी र अनुमाया राईको जोडीलाई २१-१५, ११-२१, २१-१७ ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् । यु १७ तर्फ रशिलाले राजधानी युथ क्लब, मोरङ्गकी सिमा राजबंशी संग उपाधीका लागि प्रतिस्पर्धा गर्ने छिन् ।

Priyanshu-Singh-Chhetri,-AP 1

रशिलाले राजधानी युग क्लब, मोरङ्गकी रोज पाण्डेलाई २१-९, २१-१६ ले तथा राजबंशीले सेनाकी रञ्जना भट्टलाई १६-२१, २१-१६, २१-१४ ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् । ईटहरी रङ्गशालास्थित कभर्डहलमा भएको प्रतियोगितामा राष्ट्रिय च्याम्पियन एपिएफका दिपेश धामीले भोजपुरका पूर्व राष्ट्रिय च्याम्पियन विकास श्रेष्ठलाई २१ – १२, २१ – १४ ले पन्छाउँदै फाईनलमा चिर प्रतिद्वन्दि पूर्व राष्ट्रिय च्याम्पियन सेनाका रत्नजित तामाङ्ग संगको भेट पक्का गरे । अघिल्ला सात संस्करणका विजेता रत्नले आफ्नै क्लबका नविन श्रेष्ठ माथि २१-१४, २१-१९ को जित निकाले ।

यसैगरि दिपेश र रत्न युगलमा पनि उपाधीका लागि भिड्ने भएका छन् । युगल तर्फ दिपेशले विजित थापा मगर संग मिलेर बाँकेका रियाज अन्सारी र ईरफान अन्सारीलाई २१-१५, २१-१७ ले पन्छाए । यस्तै रत्नले नविन श्रेष्ठ संग मिलेर सेनाकै प्रफुल महर्जन र रुकेश महर्जनको जोडीलाई २१-१५, २४-२२ को कठिन जित निकाले । पुरुष खुल्ला तर्फ सेनाका पविन लिनथेप र कैलालीका देवराज राना फाईनल प्रवेश गरेका छन् ।
पविनले एपिएफका प्रियान्सु सिंह क्षेत्रीलाई १९-२१, २१-११, २१-१८ ले तथा रानाले एपिएफकै निराजन देवकोटालाई २२-२०, २१-१८ ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् ।

महिला खुल्ला तर्फ जेष्ट ब्याडमिनटन एकेडेमीकी मनिषा खड्का फाईनल प्रवेश गरेकी छिन् । खड्काले बाँकेकी सुष्मा श्रेष्ठलाई २२-२०, १३-२१, २१-१७ ले पराजित गर्दै उपाधीका लागि कैलालीकी प्रार्थना देउवा संगको भेट पक्का गरेकी हुन् । देउवाले जेष्टकी सफी खत्रीलाई २१-१६, २१-१० ले पाखा लगाईन् ।

छात्र यु १७ उपाधीका लागि कैलालीका अमृत चौधरी र एपिएफका प्रियान्सु सिंह क्षेत्री भिड्ने भएका छन् । चौधरीले कञ्चनपुरका हिमाल चन्दलाई २१-१०, २१-१८ ले तथा क्षेत्रीले सेनाका भोजबहादुर गुरुङ्गलाई २१-१५, २१-१९ ले पराजित गरे । भेट्रान्स जोडी तर्फ धनकुटाका किरण प्रधान र योगेश्वर श्रेष्ठको जोडी फाईनल प्रवेश गरे । प्रधान र श्रेष्ठको जोडीले ईलामका दर्शन भक्तराज र संजय भक्तराजको जोडीलाई २१-१४, २१-१० ले पन्छाए ।

यस्तै अर्को खेलमा पाल्पाका विरेन्द्र सिंह बिष्ट र महेश बज्राचार्यको जोडीले सुभाष श्रेष्ठ र रुद्र थिङ्गको जोडीलाई २२-२०, १९-२१, २१-६ ले पराजित गर्दै फाईनलमा प्रधान र श्रेष्ठको जोडीसंगको भेट पक्का गरको हो । प्रतियोगिताको फाईनल खेल भोली शनिबार ७: ०० बजेबाट हुने प्रतियोगिता रेफ्रि उदय अर्यालले जनाएका छन् ।