धरान: सात वटै प्रदेशको मुख्य सहरमा सांगीतिक कार्यक्रम आयोजना गर्ने तयारी अनुरुप प्रदेश नं १ को मुख्य सहर इटहरीमा दशैंको अवसरमा आउँदो असोज ११ गते शनिबार नेपाल आइस प्रादेशिक संगीतयात्रा– इटहरी आयोजना हुने भएको छ ।

गएको चैत्र ९ गते प्रदेश न .५ को बुटवलबाट नेपालआइस प्रादेशिक संगीतयात्राको सफल सुरुवात भएको थियो । इटहरीको जनता माविको मैदानमा हुने कार्यक्रम संगीत यात्राको दोस्रो सस्करण हो । नेपाली संगीत क्षेत्रका नयाँ पुराना प्रतिभाहरुलाई समेटेर आयोजना गरिने बिसुद्ध सांगीतिक कार्यक्रमको प्रदेश नं १ को इटहरीमा हुने कार्यक्रममा अहिलेको निक्कै नै चर्चित गायिका मेलिना राई बिशेष आकर्षण रहनेछिन् । कुटुमा कुटु, पिरतीको मिठो तिर्सना, कम्मर माथि पटुकी, तिमीले बाटो फेर्यो अरे, शिरैमा शिरबन्दीलगायतका असंख्य सुपरहिट गीतकी गायिका मेलिना राई कन्सर्टमा पहिलो पल्ट इटहरीमा आउदैछिन् ।

त्यस्तै युट्युबमा निकै नै सक्रिय र मनपराइएको गायक छेवांग लामा पनि इटहरीमा पहिलो पल्ट आफ्नो प्रस्तुति दिन आउंदैछन् । उनको इशाराले बोलाउनु पर्दैन बोलको कभर गीतले करोड भ्युज पाएको छ भने लाहुरे, सररर लहै माया, तिम्रो मनमा, सम्झना तिम्रो, लभ संग बोलको आफ्नै गीत र कुसुमे रुमाल लगायतको कभरले लाखौ भ्युज पाएको छ । अब भने आफ्नै गीतलाइ बढी प्राथमिकता दिदै नयाँ नयाँ गीत संगीत स्रोता माझ निकाल्दै जाने बताउने गायक छेवांग लामा अहिले युवा पुस्ता माझ निक्कै लोकप्रिय छन् ।

सम्झनाले, खबर जस्ता हिट गीतका गायक एपी शेर्पासंगै प्रदेश नं १ स्तरीय स्टेट वान सिङगिंग आइडल का टप १३ फाइनालिस्टको समेत नेपाल आईस प्रादेशिक संगीत यात्रामा आफ्नो प्रस्तुति प्रस्तुत गर्नेछन् । सात्विक कुकिज र वाइवाइ चाउचाउको सहभागीतामा तथा नेपाल आइस बियरको मुख्य प्रयोजनमा सिल्भर इन्टरटेनमेन्टले कार्यक्रम आयोजन गर्दैछ । टिकट दर २०० मात्र राखिएको संगीत यात्राको टिकट एउटा नेपालआइसको खरीदमा तथा २०० बराबरको सात्विक कुकिजको खरिदमा सित्तैमा दिईने व्यवस्था गरिएको छ । प्रदेश नं १ पछि प्रदेश नं २ को मुख्य सहर जनकपुरमा आगामी छैठ पर्वको अवसरमा नेपालआईस प्रादेशिक संगीत यात्रा आयोजना हुने र लगतै अन्यप्रदेशको मुख्य सहरहमा पनि कार्यक्रम आयोजना गरिने आयोजक सिल्भर इन्टरटेनमेन्टले जनाएको छ ।