सुनसरी: सुनसरीमा सञ्चालित जिल्लास्तरीय विद्यालय ग्रासरुट लिग फुटबल प्रतियोगिताको उपाधी हिमशिखर, लिटिल फ्लावर र कचना माबिले जितेका छन् ।
छात्रा १३ बर्ष उमेर समुह अन्तर्गतको खेलमा हिमशिखर बोर्डिङ स्कूल इटहरी लिग च्याम्पियन बनेको छ । यस्तै छात्र १० बर्ष उमेर समुह अन्तर्गतको खेलमा लिटिल फ्लावर बोर्डिङ स्कुल इटहरी लिग च्याम्पियन भएको छ । छात्रा १३ बर्ष उमेर समुहमा कचना माध्यमिक बिद्यालय इटहरी लिग च्याम्पियन बन्न सफल भएको छ । बिजयी बिद्यालयका खेलाडीहरुलाइ प्रमुख अतिथी एन्फा मानार्थ उपाध्यक्ष किशोर राई, एन्फा सुनसरी अध्यक्ष केशव कार्की लगायतले पुरस्कार बितरण गरे ।
नेपालमै पहिलो पटक सुनसरीमा सञ्चालित विद्यालय ग्रासरुट लिग शनिबार सम्पन्न भएको हो । लिगमा १३ बर्ष सम्मका उमेर समुहको छात्र छात्राको सहभागिता थियो । इटहरी ३ स्थित बुढासुब्बा खेल मैदानमा लिग भदौ ६ गतेबाट सुरु भएको थियो । प्रतियोगिता संयोजक कोवितजंग कार्कीका अनुसार जिल्लास्तरीय रुपमा सञ्चालन गरिएको प्रतियोगितामा छात्र तर्फ ८ विद्यालय र छात्रातर्फ ४ वटा विद्यालय सहभागी थिए ।
फुटबलप्रति विद्यालय स्तर देखी नै आकर्षण बढाउन जिल्ला फुटबल सँघले पहिलो पटक विद्यालय स्तरीय ग्रासरुट लिग प्रतियोगिता आयोजना गरेको हो । विद्यालय स्तरदेखी नै सुरु गरिएको यो लिगले स्थानिय स्तरदेखी नै दक्ष र कुशल खेलाडी उत्पादन हुने प्रतियोगिता संयोजक कार्कीले बताए ।