धरान: मिस तामाङ प्रदेश १ को ताज धनकुटा हिलेकी प्रजिता तामाङले पहिरिएकी छन् ।
हिलेको खेलमैदानमा भएको ग्राण्ड फिनालेमा अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै प्रजिताले ताज पहिरिएकी हुन् । अन्तिम पाँचमा पर्न सफल प्रजिताले मुख्य निर्णायकको प्रश्नको उत्कृष्ट जवाफ दिदै मिस तामाङ प्रदेश १ को ताज पहिरिएकी हुन् । प्रजिता धनकुटा हिलेकी हुन् ।
ग्राण्ड फिनालेमा सहभागी प्रदेशका विभिन्न जिल्लाका १३ स्पर्धीलाई पछि पार्दै उनले मिस तामाङको ताज जितिन् । उनले व्यक्तिगत विधातर्फ पनि तीन वटा पुरस्कारसँगै नगद ३० हजार पाएकी थिइन् । यस्तै, उपाधिसँगै उनले एक थान स्कुटी, नगद २५ हजार र विभिन्न शैक्षिक संस्थाको छात्रवृत्तिसँगै गिफ्ट ह्याम्पर पाएकी छिन् ।

यसैगरी, मिस तामाङ प्रदेश १ को फस्ट रनरअप सुष्मा तामाङ घोषित भइन् । उनले नगद १ लाखसहित विभिन्न आकर्षक गिफ्ट ह्याम्पर पाइन् । यस्तै, मिना तामाङले सेकेण्ड रनरअप हुँदै नगद ५० हजारसहित आकर्ष गिफ्ट ह्याम्पर पाइन् ।

नेपाल तामाङ घेदुङ उर्लाबारी मोरङको आयोजना तथा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाको सहआयोजनामा कार्यक्रम भएको थियो । विजेताहरुलाई प्रमुख अतिथि पूर्व कानुन मन्त्री तथा सांसद शेरबहादुर तामाङ, सांसद नविना लामा, युवा व्यवसायी फुर्वा लामा, मनोज बुढाथोकी, रमेश चौधरी, तुल श्रेष्ठ, डा. रामबाबु गिरी, हेयर स्टाइलिस्ट निल डेविड कटुवाल, धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ, उर्लाबारी घेदुङका अध्यक्ष राजु घिसिङ, धनकुटा अध्यक्ष विष्णुबहादुर मोक्तान लगायतले पुरस्कार वितरण गरेका थिए ।
        
                    
        
                                        
                                                                                                
        
        
        
















        
        
















































