धरान: प्रायः औपचारिक कार्यक्रमहरु दिप प्रज्वलन गरेर वा रिबन काटेर उद्घाटन गरिन्छ । शुक्रबार भने धरानमा फरक शैलीमा एउटा औपचारिक कार्यक्रमको उद्घाटन भयो ।

धरान उपमहानगरपालिकाअन्र्तगतको धरान प्रज्ञा प्रतिष्ठानले शुक्रबारदेखि ४ दिने चित्रकला मेला कार्यक्रम आयोजना गरेको थियो । सोही कार्यक्रमको उद्घाटन समारोह धरान ८ स्थित सभागृहमा राखिएको थियो । उक्त कार्यक्रमको उद्घाटन फरक शैलीमा भयो ।

उद्घोषक एवं प्रतिष्ठानका सदस्य सचिव हर्क चुम्मेले प्रमुख अतिथि एवं धरानकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीलाई कार्यक्रम उद्घाटन गर्न निमन्त्रणा गरे । त्यसपछि आयोजकले क्यानभास अगाडि ल्याएर चित्र बनाएर उद्घाटन गर्न आग्रह गरे । कार्यवाहक मेयर भण्डारी हाँस्दै कसरी चित्र बनाउनु भन्दै आइन् । तर, उनलाई धरानका अग्रज चित्रकार प्रनोद दत्तले सहयोग गरे । उनले भनेअनुसार कार्यवाहक मेयर भण्डारीले क्यानभासमा रंग पोतिन्, र अमुर्त चित्र पनि बनाइन् ।

chitra

नयाँ पुस्तालाई चित्रकलाको ज्ञान, सीप हस्तान्तरण गर्ने एवं चित्रकलाको संरक्षण तथा विकास गर्ने उद्देश्यले शुक्रबारदेखि धरानमा ४ दिने चित्रकला मेला शुरु भएको हो । चार दिने मेलामा धरानका विभिन्न विद्यालयका ८० जना विद्यार्थीहरु सहभागी छन् । यस्तै, उनीहरुलाई चित्रकलाबारे अनुभव बाड्न र व्यवहारिक ज्ञान दिलाउन १ नं प्रदेशका २० जना अग्रज कलाकारहरुको पनि सहभागिता रहेको छ । सहभागी विद्यार्थीहरुलाई अग्रज चित्रकारहरुले २ दिनसम्म सैद्धान्तिक र व्यवहारिक ज्ञान दिलाउनेछन् । त्यसक्रममा तयार भएको चित्रहरुको बाँकी २ दिन धरान १२ स्थित अमान बजारमा प्रर्दशनी गरिने प्राज्ञ एवं कार्यक्रम संयोजक गोपाल देवानले जानकारी दिए ।

चित्रकला बनाउन वाटर कलर प्रयोग गरिने आयोजक संस्थाले जनाएको छ । चित्रकारहरुले तयार गर्ने सिर्जनाको बिषयबस्तु धरानको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले धरान र आसपासको पर्यटकीय महत्वका भुवनोट दृष्य, साँस्कृतिक तथा सामाजिक पहिचान झल्काउने खालको हुने प्रतिष्ठानका अध्यक्ष अम्बिका सम्बाहाम्फेले जानकारी दिए । उत्कृष्ट ५ जना विद्यार्थीलाई जनही नगद ५ हजारको दरले पुरस्कृत पनि गरिने उनले बताए ।

chita1

उद्घाटन समारोहमा बोल्दै कार्यवाहक मेयर भण्डारीले प्रज्ञा प्रतिष्ठानमार्फत नयाँ पुस्तालाई कला, साहित्य तथा सृर्जनासँग जोड्ने पहल भइरहेको बताइन् । ‘यस्ता कार्यक्रम, गतिविधिहरुले नयाँ पुस्तालाई सृर्जनशील बनाउन मद्दत पुग्छ,’उनले भनिन् । प्राध्यापक डा.भीम खतिवडाले नयाँ पुस्तामा कला, सीप हस्तान्तरण हुने भन्दै चित्रकला मेलाको प्रसंसा गरे । वडा नं १५ का अध्यक्ष नरेश इवारमले बजेटको सदुपयोग हुने क्षेत्रमा मन खोलेर उपमहानगरले लगानी गर्ने बताए । कार्यक्रममा विराटनगरी अग्रज कलाकार अनुराधा थापा, शिक्षासेवी गोकुल श्रेष्ठ, किरातेश्वर माविका प्रअ डा.योगेन्द्र पालुंवालगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।