धरान: बेलायतमा थुप्रै नेपालीहरु छन् । तिनै मध्ये एक हुन्, धरान १५ की देशु गोले । तर, उनको जीवन अन्यकोभन्दा केही फरक छ ।

रोजगार, अनि घरपरिवारको दायरामा मात्र उनले आफ्नो जीवन सिमित राखेकी छैनन् । उनले आफ्नो परिचयको दायरा फराकिलो बनाएकी छिन् । उनको परिचय गायिकाकोरुपमा पनि छ । उनको सक्रियता त्यतिमा सिमित छैन, उनको सक्रियता समाजसेवामा पनि प्रशंसनीय छ । उनले समाजसेवाकै लागि भर्खर मात्र देशु गोले फाउण्डेशन नेपाल स्थापना गरेकी छिन् । फाउण्डेशनमार्फत उनले दुर्गम गाउँघरतिर स्वास्थ्य शिविर गर्ने, औषधी वितरण गर्नेलगायत उद्देश्य राखेकी छिन् ।

हाल गृहनगर धरानमा रहेकी गोलेले धरान १५ स्थित गुम्बालाई ६ लाख ३६ हजार ८ सय बराबरको अक्षयकोष नै स्थापना गरिदिइन् । उक्त रकममध्ये ४ लाख उनको पहलमा संकलन भएको थियो भने बाँकी उनी आफैले दिएकी हुन् । बौद्ध शिक्षा निःशुल्क पढाई हुने यो गुम्बामा हाल ३२ विद्यार्थीहरु छन् । खान, बस्न र पढ्न निःशुल्क छ । विद्यालय दाताहरुको सहयोगबाट नै चलेको छ । ‘कक्षा १० सम्म पढाउने र त्यसपछि पनि सपोर्ट गर्ने उद्देश्य छ,’गायिका गोलेले भनिन्,‘अक्षयकोषको ब्याज शिक्षामा खर्च हुन्छ ।’

deshu-goley2

यस्तै, अनाथ एवं असहाय, घरबारविहिन भएका गरिब बालबालिकाहरुलाई पनि हेर्ने संस्थाको उद्देश्य छ । ‘व्यक्तिगतरुपमा त पहिलादेखि नै सहयोग गरिरहेकै थिएँ, समाजसेवामा नै थिए,’उनले भनिन्,‘अब चै संस्थागतरुपमा नै समाजसेवामा सक्रिय हुनेछ, गायनलाई पनि निरन्तरता नै दिन्छुँ ।’

उनको हालसम्म १२ वटा गीत युट्युबमा रिलिज भइसकेको छ । एउटा कलेक्सन एल्बम पनि निस्किएको छ । अझै केही गीतहरु रेडर्क हुदैछ । केही दिनअघि मात्र उनको धरानस्थित फ्रेण्ड्स गार्डेनमा एकल साँझ सांगीतिक कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा उनले अक्षयकोष २ करोड पुर्याउने घोषणा गरिन् ।

उनी बेलायतमा सेटल भैसकेकी हुन् । तर, पनि उनलाई आफ्नो देशको माया औधी छ । उनी स्वदेश आउदै जादै गर्छिन् । ‘देशको माया मार्न नसकिदो रहेछ, त्यसैले समय मिलाएर आउदै जादै गर्छु,’उनले भनिन्,‘बेलायतमा पढ्न र काम गर्नसम्म ठिक छ, तर जीवन उतै बिताउन सकिदैन ।’ आफ्नो सन्तानलाई राम्रोसँग सेटल गरेपछि पुर्णरुपमा स्वदेश नै फर्कने उनले बताइन् । ‘पछि नेपालै फर्कने हो, यतै समाजसेवामा रहने छु,’उनले भनिन् ।