धरान: पुर्वको पर्यटन प्रर्वद्धन गर्न आयोजित दोस्रो इष्ट टुरिज्म मार्टमा सहभागी विदेशी पर्यटन व्यवसायी तथा सञ्चारकर्मीहरुलाई आज बिहान धरानको महत्वपुर्ण धार्मिकस्थलहरुको अवलोकन गराइएको छ ।

सहभागी व्यवसायीहरुलाई धरानको ऐतिहासिक विजयपुरगढीमा अवस्थित धार्मिक पर्यटकीयस्थलहरुको अवलोकन भ्रमण गराइएको हो । आयोजक समितिका उपाध्यक्ष कृष्ण साहका अनुसार धरानको विजयपुरमा रहेको पिण्डेश्वर,दन्तकाली, बुढासुब्बालगायत महत्वपुर्ण पर्यटकीय धार्मिकस्थलहरुको अवलोकन भ्रमण गराइएको थियो । त्यसपछि, विदेशी पाहुनाहरु चर्चित पर्यटकीयस्थल भेडेटार गएका थिए ।

vedetar-welcome

भेडेटार होटल एशोसिएशनले विदेशी पर्यटन व्यवसायी पाहुनाहरुको स्वागत, सत्कार गरेको थियो । करिब डेढ सय जना पर्यटन व्यवसायी तथा अतिथिहरुलाई भेडेटारको बारेमा जानकारी दिनुका साथै गन्तव्यहरुको बारेमा पनि बताएको अध्यक्ष जितेन्द्र रुम्दालीले बताए । ‘भेडेटारको मौषम उहाँहरुले प्रत्यक्ष देख्नुभयो, हामीले सदावहार घुम्नलायक ठाउँ भएको बतायौं,’उनले भने,‘यही बाटो भएर टिएमजे क्षेत्र जाने र २ रात पाहुनालाई राख्न सकिने प्याकेज भएको जानकारी दियौं । भेडेटारसँगैको नाम्जे, नमस्ते झरना, राजारानी ताल, ध्वजे डाँडा सबैबारे बतायौं ।’

भेडेटारको अवलोकनपछि खाना खाएर टोली पुनः धरान फर्किएको छ । अहिले मार्ट आयोजनास्थल सिद्धि नेवाः परिषदमा बिजनेश टु बिजनेश(बि टु बि) बैठक भइरहेको आयोजक समिति उपाध्यक्ष साहले जानकारी दिएका छन् । बैठक सकेपछि पाहुनाहरु तालतलैजाको भ्रमणमा जाने र साँझ विराटनगर बस्नेछन् । त्यहाँ डिनरसहित ककटेल पार्टी आयोजना हुनेछ ।