बिराटनगर: १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले दुई प्रहरी जवानलाई भदौंको सर्वोत्कृष्ट प्रहरी(पुलिस अफ दि मन्थ) घोषणा गरेको छ ।

क्षेत्रिय अनुसन्धान समूहमा कार्यरत प्रहरी जवान मुकेश फुयाल र जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी जवान भिम अधिकारीलाई प्रदेश प्रहरी कार्यालयले सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै प्रदेश प्रहरी कार्यालयले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

सर्वोत्कृष्ट हुने प्रहरीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरणसहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भमा राखिने गरिएको छ भने १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा पनि १ महिनासम्म राखिने गरिएको छ ।