काठमाडौं : फिफा विश्वकप फुटबल छनौटअन्तर्गत् आफ्नो तेस्रो खेलमा नेपालले बिहीबार अष्ट्रेलियासित खेल्दैछ । खेल नेपाली समयानुसार दिउँसो पौने ३ बजे अष्ट्रेलियाको राजधानी क्यानबेरामा सुरु हुनेछ । लगातार विश्वकप फुटबलको अनुभव बटुलेको कठिन टोली अष्ट्रेलियाविरुद्ध उसैको मैदानमा हुने खेल नेपालका लागि निकै चुनौतीपूर्ण रहेको छ ।
खेलअगाडि बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो टोलीले राम्रो प्रदर्शन गर्नेमा पूरा विश्वास रहेको बताएका छन् ।
फिफा वरीयतामा नेपाल १६१औं स्थानमा छ भने अष्ट्रेलिया ४४ औं स्थानमा रहेको छ । विश्वकप छनोटको पहिलो खेलमा कुवतेसित ७-० को हार भोगेको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेइलाई २-० ले हराएको थियो । अष्ट्रेलियाले भने अहिलेसम्म खेलेको एकमात्र खेलमा कुवेतलाई ३-० ले हराएको छ ।







































































