बेलायत : लामो समयदेखि मातृभूमिबाट टाढा रहँदै आएका बेलायतका अक्सफोर्डबासी नेपालीहरू शनिबार आफ्नो गाउँ ठाउँ सम्झेर भावुक भइरहेका थिए । आफू हुर्कदा अनुभव गरेको सँस्कृति सम्झेर विगतका दिनमा फर्किरहेका पनि थिए ।
नेपालको सुुदूरपूर्वी भूगोल र याक्थुङ समुदायमा आधारित भएर निर्माण गरिएको चलचित्र ‘थात्थलो’को प्रर्दशनीले अक्सफोर्डबासी नेपालीहरूले फरक अनुभूति गर्न पाएका हुन् । सो अवसर जुराइदिने संस्थाहरू तेह्रथुम समाज यूके र सगरमाथ गोरखा नेपाली समाज आसफोर्ड रहेका थिए । चलचित्रमार्फत् सँस्कृतिलाई पुस्तान्तरण गर्न आफूहहरूले कार्यक्रम आयोजना गरेको तेह्रथुम समाज यूकेका अध्यक्ष डम्मर सिङ्गकले बताए । उनले नेपाली चलचित्र र कलाकारहरूको प्रबद्र्धनका लागि प्रवासमा रहेका नेपालीहरू सदैव तत्पर रहेको पनि जोडे । त्यस्तै, सगरमाथा नेपाली समाजका अध्यक्ष चक्र राईले नेपालीहरू जुनसुकै देशमा पुगेपनि आफ्नो सँस्कृति भुल्न नदिन कला, सँस्कृति, साहित्य र सङ्गीतलाई बचाइराख्नुपर्ने धारणा राखे ।

चलचित्र प्रर्दशनका बेला निर्देशक खगेन्द्र पङ्धाक र बर्मेली नायिका सुमी लिवाङ लिम्बु पनि उपस्थित थिइन् । सोही अवसरमा उनीहरूलाई याक्थुङ माङ्गेन्ना चुम्लुङ यूकेले पनि सम्मान पत्र र खदाले सम्मान गरेको थियो । त्यस्तै, तेह्रथुम समाज, सगरमाथा नेपाली समाज, लिम्बुवान नागरिक समाज, कियाचु आसफोर्ड, गोरखा पिस फाउन्डेसन, सगरमाथा महिला कमिटि, सेवारो कलाकार सङ्घ यूके, लिम्बु पत्रकार सङ्घ, विश्व नेपाली साहित्य महासङ्घ लगायतले पनि स्वागत सम्मान गरेको थियो । चलचित्र प्रर्दनीकै लागि यूके भ्रमणमा निस्किएका निर्देशक पङ्धाकले प्रतिक्रिया दिँदै यूकेवासी नेपालीहरूको माया र सद्भावले उर्जा मिलेको बताए । उनले चलचत्रि कम बजेटमा निर्माण भएपनि आफूहरूले विषयवस्तुको प्रस्तुतिदेखि छायाँकनसम्म सक्दो मिहेनत गरेको दावी गरे ।
थातथलो फिल्म करिब २० लाख बढी लागतमा निर्माण भएको हो । चलचित्रमा प्रथम लिम्बुवान आइडल कञ्चन थलङ, सुमी लिवाङ लिम्बु, किशोर लिम्बु पङ्धाक, सीता कुमारी तुम्बापो, नवीन सिरेङ चोङवाङ, सञ्जय निङ्लेकू, आयुषा लिम्बुखिम्, दुर्गा पङ्धाक, जेसन लिम्बु लगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मको दृश्याङ्कन पूर्वी नेपालको गुफापोखरी, मेन्छ्यायेम, चौकी, तीनजुरे भेगमा गरिएको छ । चलचित्रको हालसम्म नेपालको विभिन्न जिल्लाहरू, हङकङ, यूकेको स्कटल्याण्ड, ह्यारो, ग्रेज, अल्डरसटमा सफल प्रदर्शनी भइसकेको निर्देशक पङ्धाकले बताए ।






































































