धरान: तिहारको अवसरमा प्रत्येक बर्ष आयोजना हुदै आएको ‘छिमेकी साँझ’ यसवर्ष पनि कार्तिक पहिलो साता हुने भएको छ ।

धरान–१२ को छिमेकी युवा समुहले २१ औं संस्करणको ‘टुबोर्ग छिमेकी साँझ–२०७६’ आउदो कार्तिक ८ गते आयोजना हुने भएको हो । आयोजक संस्थाले बुधबारको पत्रकार सम्मेलन गरेर कार्यक्रमबारे जानकारी दिएको हो । चतरालाइनस्थित धरान उपमहानगरपालिकाको मुख्य प्रबेशद्वार अगाडीको सडकमा आयोजना हुने कार्यक्रममा वरिष्ठ गायक दिप श्रेष्ठसहित धरान संगीत प्रतिष्ठानबाट अन्तिम छनौटमा परेका तीन प्रतिस्पर्धीहरुले आफ्नो प्रस्तुति दिने संस्थाका सचिब सचेन्द्र राईले बताए ।

छिमेकी साँझमा ‘छिमेकी राईजिङ स्टार’ पनि छनौट हुने गरेको छ । तीन जना प्रतिस्पर्धीहरुले यही उपाधिको लागि गीत प्रस्तुत गर्नेछन् । विजेताले नगद २५ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा भाग लिनको लागि कार्तिक १ गतेसम्म फारम भर्नुपर्नेछ भने कार्तिक २ गते विहान ८ बजेदेखी धरान ९ स्थित धरान संगीत प्रतिष्ठानको कार्यालयमा अडिसन शुरु हुने आयोजकले जनाएको छ । गत बर्ष समिता लिम्बुले उपाधि जितेकी थिइन ।

यसैगरी,कार्यक्रममा गायक जगत राना मगर र बालगायक प्रितम आचार्यको समेत प्रस्तुति रहनेछ । गायक मगर खोजी प्रतिभा गायन प्रतियोगिताका सेकेण्ड रनरअप हुन् भने बालगायक आचार्य चर्चित भारतिय टेलिभिजन जी टिभीको रियालीटी शो सारेगमप लिटिल च्याम्समा तेस्रो भएका थिए । कार्यक्रम साँझ बेलुका ५ बजेदेखी राती १० बजेसम्म आयोजना हुनेछ । कार्यक्रममा नृत्य ४ वटा, राईजिङ स्टारको ३ सहित २१ वटा मात्र सांगीतिक प्रस्तुति राखिएको संस्थाका अध्यक्ष राजेन्द्र राईले बताए ।

यसैगरी, छिमेकी साँझको मुख्य प्रायोजक गोर्खा ब्रोअरी प्रालि र धरानको प्रतिष्ठीत व्यापारीक संस्था बराह ज्वलेरी इण्डष्ट्रिज प्रालिको सहकार्यमा छिमेकीले २१ संस्करण पूरा गरेको अवसरमा संयुक्तरुपमा केक समेत काटिने छ । गत वर्षको साँझबाट संकलन भएको रकमबाट बचेको रकमले सुबिधायुक्त एम्बुलेन्स खरिद गर्ने भनिएको थियो । तर, त्यो योजना विबिध कारणले पूरा नभए पनि छिमेकीले सञ्चालन गदै आएको जिर्ण अवस्थामा पुगेको एम्बुलेन्सको थप मर्मत ३ लाख ५० हजार बढी खर्च गरी सञ्चालनमा ल्याइएको संस्थाका अध्यक्ष राजेन्द्र राईले बताए । ‘गत वर्षको साँझबाट संकलन भएको बचेको रकमले सुबिधा सम्पन्न एम्बुलेन्स खरिद गर्ने भनेका थियौं, तर त्यो पूरा हुन सकेन,’अध्यक्ष राईले भने,‘अहिले हामीले सञ्चालन गदै आएको एम्बुलेन्सलाई थप मर्मत गरेर सञ्चालनमा ल्याएछौं ।’