धरान : धरान प्रज्ञा प्रतिष्ठानको सहयोग तथा युवा कला केन्द्र, पूर्वाञ्चल धरानको आयोजनामा मंगलबार धरान १ स्थित छाताचौकको चौतारीमा दिवंगत चित्रकार स्वयमप्रकाश श्रेष्ठको स्मृतिमा कला कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

कार्यशालामा धरान, विराटनगर, इटहरी र धनकुटाका गरी २० भन्दा बढी चित्रकारहरुको सहभागिता रहेको थियो । कार्यशालाका लागि नेपाल ललितकला प्रतिष्ठान, काठमाण्डौंका प्राज्ञ धरान निवासी रमेश खनालबाट २० वटा क्यान्भास प्रदान गरिएको थियो ।

कला कार्यशाला अघि प्राज्ञ रमेश खनालको नेतृत्वमा निर्माण भइरहेको धरान र बराहक्षेत्रस्थित धार्मिक स्थलहरुबारे वृत्तचित्रको शुभमुहूर्त धरान प्रज्ञा प्रतिष्ठानका संयोजक अम्बिकाकुमार सम्बाहाम्फेले नरिवल फुटाएर गरेका थिए ।

कार्यक्रममा संस्कृति तथा पुरातत्वविद डा. सोमप्रसाद खटिवडाको पनि उपस्थिति रहेको थियो । प्राज्ञ खनालले दिवंगत चित्रकार श्रेष्ठ र डा. खतिवडाले संस्कृति तथा वृत्तचित्रबारे बोलेका थिए ।

कार्यक्रममा प्राज्ञ खनालले ललितकला प्रतिष्ठानबाट प्रकाशित विभिन्न पुस्तक तथा कृतिहरु धरान प्रज्ञा प्रतिष्ठानका संयोजक सम्बाहाम्फेलाई हस्तान्तरण गरे ।