छात्रालाई बलात्कारपछि जिउँदै जलाउने १६ जनालाई बंगलादेशको अदालतले मृत्युदण्डको सजाय सुनाएको छ। १९ वर्षीया छात्रा नुस्रत हजान रफीलाई जिउँदै जलाउने १६ जनालाई गत सोमबार अदालतले मृत्युदण्डको सजाय सुनाएको हो।

आफ्नै विद्यालयका प्रधानाध्यापकले यौन दुर्व्यवहार गरेको भनी नुस्रतले गत मार्चको अन्तिममा प्रहरीमा उजुरी दिएकी थिइन्। त्यसको ११ दिनपछि गत अप्रिल ६ मा उनलाई विद्यालयको कौसीमा लगेर बुर्का लगाएका ४/५ जनाले उजुरी फिर्ता लिन धम्क्याएका थिए।

नुस्रतले नमानेपछि उनलाई जिउँदै जलाइएको थियो। उनको शरीरको ८० प्रतिशत भाग जलेको थियो। यद्यपी नुस्रतलाई जिउँदै उद्धार गरिएको थियो। हत्याराहरूले उक्त घटनालाई आत्महत्याको प्रयास गरेको भनी देखाउन खोजेका थिए। घटना पछि पनि उनले बयान दिइकी थिइन्।

उक्त बयान नुस्रतका भाइले आफ्नो फोनमा रेकर्ड गरेका थिए। ‘प्रधानाध्यपकले मलाई छोएको थियो, म मेरो सास रहुञ्जेल यो अपराधको विरूद्ध लड्छु’ नुस्रतले बयानमा भनेकी छन्। उनले त्यस बयानमा केही आक्रमणकारीहरूको नाम समेत लिएकी थिइन्। बयान दिएको चार दिनपछि अप्रिल १० मा उनको मृत्यु भएको हो। यस घटनापछि बंगलादेशको विभिन्न क्षेत्रमा न्याय माग्दै आन्दोलन समेत भएको थियो।

सेतोपाटी . कम बाट