काठमाडौं : बलिउड अभिनेत्री बाणी कपूरले सामाजिक सञ्जाल इन्स्टाग्राममा हरे राम लेखेको बिकिनी लगाएको तस्बिर सेयर गरेकी थिइन् । उनले बिकीनीमा भगवानको नाम लेखेर धर्मप्रति अपमान गरेको भन्दै सामाजिक सञ्जालमा विरोध गरिएको थियो ।

यसैबीच, बाणीविरुद्ध मुद्दा दर्ता भएको छ । भारतीय सञ्चार माध्यम आजतकमा प्रकाशित समाचारका अनुसार मुम्बईको एन एम जोशी मार्गमा रहेको पुलिस स्टेशनमा रमा सावन्त नामकी महिलाले बाणीविरुद्ध मुद्दा दर्ता गराएकी हुन् ।

उनले बाणीविरुद्ध मानिसहरुको धार्मिक भावनामा ठेस पुराएको आरोप लगाएकी छिन् । रमाले पुलिसले उनलाई स्टेटमेन्ट रेकर्ड गर्नको लागि बोलाएको बताएकी छिन् ।

यसपछि, वाणीले इन्स्टाग्रामबाट ट्रोल बनेको तस्बिर हटाएकी छिन् । यद्यपि, तस्बिर सामाजिक सञ्जालमा भाइरल भइसकेको छ । उनको तस्बिरमा इन्स्टाग्राम प्रयोगकर्ताहरुले जुनसुकै कपडालाई पनि फेशनको रुपमा प्रयोग गर्नेहरुलाई कडा भन्दा कडा कारबाही गरिनुपर्ने बताएका छन् ।