इटहरी: इटहरीमा महिला उद्यमशील मेलाको तयारी पूरा भएको छ ।
नेपाल उद्यमशील महिला महासंघले बिहीबार इटहरीमा पत्रकार सम्मेलन गर्दै यहि २८ गतेबाट पुष ६ गते सम्म मेला लाग्ने जानकारी दिएको हो । नेपाल उद्यमशील महिला महासंघकी अध्यक्ष देविका बुढाथोकीका अनुसार मेलामा एक सय वटा स्टल राखिनेछ । करीब ४० लाखको लागतमा सम्पन्न हुने उक्त मेलामा २ करोड भन्दा बढी कारोबार हुने बताईएको छ ।
‘हाम्रो मुख्य कुरा भनेकै घरेलु उत्पादनलाई प्रबर्धन गर्ने हो,’ बुढाथोकीले भनिन्, ‘यहाँ ४५ वटा जिल्लाका महिलाहरुले उत्पादन गरेका सामाग्री राख्नेछौँ ।’ उनका अनुसार अपाङ्गका लागि निःशुल्क स्टल राखिनेछ भने अन्य स्टलले ५ हजार रुपैँया तिर्नुपर्ने छ । हरेक साँझ राष्ट्रिय स्तरका कलाकारले मनारञ्जन दिलाउँने उनले बताईन् । ‘हामीले विशेषगरी प्रदेश १ लाई फोकस गरेका छौँ,’उनले भने,‘महिलाहरुले बनाएका सामाग्री उत्पादन भएको भएपनि प्रबर्धन नहुँदा समस्या हुँदै आएको छ ।’








































































