धरान : अभिनेता विपिन कार्कीलाई किङ्ग अवतारमा प्रस्तुत गरिएको फिल्म ‘सेल्फी किङ्ग’ को पोष्टर र टिजरपछी निर्माण टिमले गीत सार्वजनिक गरेको छ ।

सार्वजनिक लोक शैलीको गीतमा ‘सेल्फी किङ्ग’ उर्फ विपिनसँगै केकी अधिकारी र भीमफेदी गाईज फिचर्डमा छन् । कथाअनुसार नै फिल्ममा आउने गीतमा कार्यक्रमको माहोललाई देखाइएको छ । गाउँमा आयोजित एक सांस्कृतिक कार्यक्रमको माहोललाई गीतमा देखाइएको छ । ‘जाली रुमाल’ बोलको गीतमा बि पाण्डेको शब्द, सुभाष भुषालको संगीत रहेको छ भने यसमा अन्जु पन्त र पुरुषोत्तम सुवेदीको स्वर रहेको छ । गीतलाई भीमफेदी गाइजकै निर्मल लामाले कोरियोग्राफ गरेका हुन् । सोलुको सल्लेरीमा छायाँकन गरिएको गीतमा केकी कलाकारकै रुपमा सांस्कृतिक कार्यक्रममा सहभागी भएकी हुन् । जहाँ विपिन हाँस्यकलाकारको रुपमा उपस्थित छन् । गीत मन परेकै कारण केकीले गीतमा मात्र भएपनि देखिन तयार भएकी हुन् । ‘सेल्फी किङ्ग’ नामले परिचित एक चर्चित हाँस्य कलाकार(टेलिभिजन)ले कला यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा यसमा देखाइनेछ । ड्रामेडी (ड्रामा प्लस कमेडी) जनराको फिल्मलाई बिशाल सापकोटाले निर्देशन गरेका हुन् । उनको यो डेब्यु फिल्म हो । विपिनसंगै फिल्ममा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले एक गीतमा अभिनय गरेकी छिन् ।

‘गीत राम्रो छ यसैले गीतमा छु’ केकीले भनिन् । उनले गीत राम्रो भएसगै यसलाई प्रस्तुत गर्ने तरिका पनि मन परेको बताईन् । ‘यो गीतमा म केकी अधिकारी नै बनेर प्रस्तुत भएकी छु । कथा अनुसार नै गीत फिल्ममा आउने भएकोले पनि गीत गर्न राजी भएकी हुँ । साथै गीतको कोरियोग्राफी र यसलाई खिच्ने शैली पनि मन पर्यो’ उनले भनिन् ।

गत वर्षको सफल फिल्म ‘प्रसाद’ का निर्माता सुभाष थापा र निर्देशक दिनेश राउतले संयुक्त रुपमा यसलाई निर्माण गरेका हुन् । ‘फिल्ममा हामीले गीतलाई पनि कथा अनुसार नै बगाएका छौ । अर्थात् गीतकै लागि भनेर छुटै तडकभडक गरिएको छैन’ दिनेशले भने । उनले गीत आउँदा फिल्म हेरिरहेका दर्शकलाई कथा र परिवेश भन्दा बाहिर नलगोस भनेर नै हामीले यसलाई गाउँमा हुने कार्यक्रमकै शैलीमा खिचेको समेत जनाए । उनले भने ‘सोलुको सल्लेरीमा सांस्कृतिक कार्यक्रम हुँदा कसरी गरिन्छ र कास्तो हुन्छ भन्ने जस्ताको त्यस्तै गीतमा छ ।’

फिल्ममा बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शब्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, कृति जोशीको श्रृंगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, हिमाल केसीको द्वन्द, उत्तम न्यौपानेको साउण्ड डिजाइन, जीवन थापाको सम्पादन र कलर करेक्सन, बिनोद पौडेलको स्टील फोटोग्राफी र साजन थापाको कला निर्देशन रहेको छ । यसमा सह निर्माता राजेश बिसुराल र प्रवल कोइराला रहेका छन् ।