काठमाडौं : मिस वर्ल्ड – २०१९ मा मिस नेपाल अनुष्का श्रेष्ठले दुईवटा उपाधि जितेकी छिन् । मिस वर्ल्डको ताज भने जमैकाकी टोनी एन सिंहले पहिरिएकी छिन् ।

मिस नेपाल अनुष्का सेमिफाइनल अर्थात् टप-१२ सम्म पुगेर बाहिरिएकी हुन् । उनले ‘ब्युटी विथ पर्पोज’ र ‘मल्टिमिडिया अवार्ड’ जितिन् । सन् २०१८ को मिस वर्ल्डमा सहभागी तत्कालीन मिस नेपाल शृंखला खतिवडाले पनि दुवै उपाधि जितेकी थिइन् ।
यस वर्ष टप-१२ मा क्रमशः केन्या, नाइजेरिया, ब्राजिल, मेक्सिको, भारत, नेपाल, फिलिपिन्स, भियतनाम, जमैका, फ्रान्स, रुस र कुक आइल्यान्ड्सका शुन्दरीहरू परे । श्रेष्ठले आफ्नो फेसबुक पेजमार्फत दुईवटा अवार्ड जिताउन भोटिङ गर्ने सबैलाई धन्यवाद दिएकी छिन् । मिस वल्र्डमा मिस फ्रान्सले फस्ट रनरअप र मिस इन्डियाले सेकेन्ड रनरअपको उपाधि हात पारे। टप-५ मा नाइजेरिया, ब्राजिल, भारत, जमैका र फ्रान्सका सुन्दरीहरू पुगेका थिए। प्रतियोगितामा एक सय ११ देशका सुन्दरी सहभागी थिए ।