मुम्बई : बलिउड अभिनेत्री दीपिका पादुकोणको ‘छपाक’ फिल्मलाई चोरीको आरोप लागेको छ । फिल्म रिलिज हुनु दुई साताअघि ‘छपाक’ लाई स्क्रिप्ट चोरीको आरोप लागेको हो ।

भारतीय लेखक राकेश भारतीले आफ्नो स्क्रिप्ट चोरी गरेको फिल्म तयार भएको आरोप लगाउँदै मुम्बई उच्च अदालतमा मुद्दा दर्ता गरेका थिए । उनले फिल्ममा लेखकको रुपमा क्रेडिट दिइयोस भनेर अपिल गरेका छन् । ‘मैले एसिड आक्रमणमा परेकी एक युवतीको वास्तविक कथामा आधारित स्क्रिप्ट लेखेको थिए । मैले लेखेको स्क्रिप्ट माथि फिल्म निर्माण भएकाले लेखकको रुपमा मलाई क्रेडिट दिनुपर्छ’, उनले भने, ‘सन् २०१५ मा मैले भारतीय मोसन पिक्चर्स प्रोड्युसर्स एसोसिएसनमा दर्ता गराएर ब्ल्याक डे नामक फिल्म बनाउने तयारी गरेका थिए ।’ आफूले लेखिरहेको स्क्रिप्टअनुसार ‘छपाक’ निर्माण भएपछि उनले आपत्ति जनाएका थिए ।

dipika

वकिल अशोक सरोगीका अनुसार ‘छपाक’ को निर्मातालाई यसबारे जानकारी गराउँदा कुनै प्रतिक्रिया नआएपछि अदालतमा मुद्दा दर्ता गरिएको थियो । यस मुद्दामा आगामी शुक्रबार सुनुवाई हुँदैछ । एसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवालको कथामा आधारित मेघना गुलजारद्वारा निर्देशित ‘छपाक’ फिल्म आगामी जनवरी १० मा रिलिज हुँदैछ ।