पथरी: नेपाल मगर संघ पथरीशनिश्चरेले माघ १ गते ५०१४ औं नयाँ वर्ष मनाउने भएको छ ।

मोरङ्गको पथरीमा आइतवार पत्रकार सम्मेलन मार्फत माघ १ गते विभिन्न कार्यक्रम गरि नयाँ वर्ष मनाउने जानकारी दिएको हो । संघको पथरीशनिश्चरेका अध्यक्ष टंक मगरले मगरको लोपोउन्मुख संस्कार सस्कृति
बचाउन कार्यक्रम आयोजना गरिएको वताए । मगरका हुर्रा, कौडा र मरुनी नृत्यका साथै विभिन्न खेलकुद कार्यक्रमको आयोजना गरिने उनले जानकारी दिए । मगर समुदायको राष्ट्रिय पर्व भएकाले सो दिन पथरीशनिश्चरे नगर भित्रका मगर तथा गैर मगरको सो कार्यक्रममा सहभागिता रहने नगर सचिव खगेन पुलामी मगरले वताए ।

नयाँ पुस्तामा मगर भाषा र संस्कृतीको हस्तान्तरण गर्न कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ । मगर युवा संघ पथरीशनिश्चरेका अध्यक्ष भुवन पिठाकोठे मगरका अनुसार सो कार्यक्रममा छेलो, हाडी फोड, माला दौड लगायतका खेलकुद प्रतियोगीता हुनेछ । यसै विच नेपाल सरकारले माघ १ गतेको विदा थारु जातीका लागी मात्र भएकोमा मगरहरुको पनि नयाँ वर्ष भएकाले सरकारले मगरको पनि सम्वोधन गर्नु पर्ने संघले माग गरेको छ ।