धरान: इटहरी उपमहानगरपालिकाले महिला खेलाडी उत्पादन गर्ने उद्देश्यले ६० जना छात्राहरुलाई फुटबल खेलको प्रशिक्षण दिलाएको छ ।

उपमहानगरले विभिन्न विद्यालयका छात्राहरुलाई एक महिनासम्म प्रशिक्षण उपलब्ध गराएको हो । प्रशिक्षण लिएका महिला खेलाडीहरुको तीन वटा टिम तयार गर्ने पनि उपमहानगरले जनाएको छ । इटहरीका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्यनरत छात्राहरुलाई फुटवल प्रशिक्षण प्रदान गरिएको हो । प्रशिक्षणको समापन कार्यक्रमलाई सम्वोधन गर्दै उपमेयर लक्ष्मी गौतमले अन्तराष्ट्रीय खेलाडी उत्पादन गर्ने लक्ष्य लिएर प्रशिक्षण आयोजना गरिएको बताइन् । उनले पढाई सँगसँगै खेलकुदलाई पनि अघि वढाउन सल्लाह दिइन् । उनले खेलवाटै ब्यवसायिक बन्न सकिने धारणा राख्दै सोही अनुरुप अघि वढन उत्प्रेरणा पनि दिइन् ।

प्रशिक्षण लिएकी छात्रा सुनयना वानियाँले एक महिनासम्म तालिम दिएर आफूहरुको प्रतिभा उजागर गर्ने अवसर प्रदान गरेको भन्दै उपमहानगरपालिकालाई धन्यवाद दिएकी थिइन् । साथै उनले एडभान्स तालिम दिलाउन पनि आग्रह गरिन् । एक महिनासम्म श्याम मानन्धर,विष्णु चौधरी,मणिन्द्र याख्खा,दिपेन्द्र तामाङ्ग र राजेश लुङ्गेलीले छात्राहरुलाई प्रशिक्षण दिएका थिए ।