धरान: लुकेका प्रतिभाहरुलाई अवसर दिलाउने उद्देश्यले गत बर्षदेखि शुरु भएको एसईई स्टेट १ आइडलको दोस्रो सँस्करण आयोजनाको तयारी भएको छ ।

फक्ताङलुङ मिडिया हाउसप्रालिले सोमबार युएन कलेजस्थित रेष्टुरेष्टमा पत्रकार सम्मेलन गर्दै दोस्रो सँस्करणको तयारी शुरु भएकोबारे जानकारी गराएको हो । विद्यार्थीहरुमा निहित गायन प्रतिभालाई उजागर गर्न प्रदेश नं १ स्तरीय प्रतियोगिता गरिएको आयोजक संस्थाका अध्यक्ष डम्बरकुमार तुम्बापोले जानकारी दिए । ‘प्रदेश नं १ स्तरीय यो गायन प्रतियोगितामा भर्खर एसइइ दिएर बसेका छात्रछात्राहरुले भाग लिन पाउनेछन्,’उनले भने ।

प्रतियोगितामा सहभागीताको लागि प्रदेश नं १ का १४ जिल्लालाई समेट्ने गरी विभिन्न स्थानहरुमा अडिसन गरिने आयोजकले जनाएको छ । अडिसन आगामी चैत दोस्रो सातामा धनकुटाबाट शुरु हुनेछ । प्रतियोगिताको विजेताले नगद ५० हजारसहित एउटा गीत रेडर्क गर्ने अवसर पाउनेछन् भने प्लस टु पढ्न छात्रवृत्ति र थुप्रै उपहारहरु पनि पाउनेछन् । यस्तै, फष्ट रनरअपले नगद ३० हजारसहित उपहारहरु पाउनेछ भने सेकेण्ड रनरअपले २० हजार सहित उपहार पाउनेछन् । साथै, विभिन्न सबटाइटलहरु पनि दिइने आयोजकले जनाएको छ ।