धरान: किरात राईहरुको नयाँ बर्ष यले दोङ ५०८० को अवसर पारेर धरानमा तेस्रो यले साँझ २०७६ आयोजना गरिने भएको छ ।
ब्लीङ्क इभेन्ट म्यानेजमेन्ट प्रालिले शुक्रबार पत्रकार सम्मेलन गरेर आगामी माघ ३ गते धरान १२ स्थित पब्लिक उमाविको मैदानमा यले साँझ आयोजना गर्ने जानकारी दिएको हो । आयोकजका अनुसार सधैं धरान ८ स्थित यलम्बर पार्कमा हुदै आएको कार्यक्रम यसपालीदेखि पब्लिक हाइस्कुलको मैदानमा गरिने भएको छ । यो कार्यक्रम नेपाल भ्रमण बर्ष २०२० को अभियानलाई पनि साथ दिन आयोजना गरिने आयोजक संस्थाका अध्यक्ष अमित राईले जानकारी दिए ।
कार्यक्रममा चर्चित द एज ब्याण्ड आउनेछ भने स्टाण्डअप कमेडियन सुजन जिम्बाको पनि प्रस्तुती रहने आयोजकको भनाई छ । यस्तै, स्थानीय कलाकारहरुको पनि प्रस्तुती हुनेछ । कार्यक्रम सकिएपछि भोलीपल्ट साँझमा एक जना दर्शकलाई लक्की ड्रमार्फत द एज ब्याण्डको साथमा रात्रीभोजमा सहभागी गराइने पनि अध्यक्ष राईले जानकारी दिए । ‘टिकट बिक्री गर्दा नै को को एज ब्याण्डसँग रात्रीभोजमा सहभागी हुने हो, फर्म भराइन्छ र लक्की ड्रमार्फत एक जनालाई त्यो अवसर दिइनेछ,’उनले भने ।
आयोजक संस्थाले विगतदेखि नै सांगीतिक कार्यक्रमलाई सामाजिक कार्यसँग पनि जोड्ने गरेको छ । विगतमा भएका पहिलो सँस्करण पश्चात संस्थाले बोनम्यारो क्यान्सर पीडित नाइसा शाक्यको उपचारार्थ ५० हजार सहयोग गरेको थियो भने दोस्रो सँस्करणबाट एचआइभी संक्रमित तथा प्रभावित बालबालिकाहरुको शिक्षाको लागि हातेमालो अक्षय कोषमा ८० हजार र एक जना क्यान्सर पीडितलाई २५ हजार सहयोग प्रदान गरेको थियो । यसपाली अनाथ, असहाय बालबालिका र वृद्धवृद्धाहरुलाई ५० हजार सहयोग गर्ने निर्णय गरेको आयोजकले जनाएको छ ।
        
                    
        
                                        
                                                                                                
        
        
        
















        
        
















































