काठमाडौं : गायिका आस्था राउतले प्रहरीले दुव्र्यवहार गरेको आरोप लगाएकी छन् । बुधबार त्रिभुवन अन्तर्राराष्ट्रिय विमानस्थलबाट भद्रपुर जानेक्रममा चेकिङ हुँदा एक महिला प्रहरीले दुव्र्यवहार गरेपछि सामाजिक सञ्जाल फेसबुकमा भिडियोमार्फत आक्रोश पोखेकी थिइन् ।

एक महिला प्रहरीबाट भएको दुवर्यवहारलाई लिएर प्रहरीलाई बदनाम गरेको भन्दै प्रहरी प्रधान कार्यालयले छानविन प्रक्रिया सुरु गरेको छ । प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीको टोलीले संयुक्त रुपमा सो भिडियोको अनुसन्धान थालेको छ । नेपाल प्रहरीका प्रवक्ता शैलेश थापाका अनुसार सो भिडियो प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समेत हेरेपछि छानबिनका लागि सम्बन्धित निकायमा पठाएको बताए । ‘एउटा प्रहरीले ड्युटीको क्रममा दुःख दिएको भनेर उजुरी दिन सकिन्छ । तर सम्पूर्ण प्रहरी प्रशासनमाथि आक्रोश पोख्नु गलत हो । उहाँले विमानस्थलमा आफूमाथि दुव्र्यवहार गरिएको भन्नुभएको छ । यस सम्बन्धमा गम्भीर छानबिन हुनेछ,’ उनले भने ।

भद्रपुर ओर्लिएलगत्तै गाडीबाट फेसबुक लाइभ गरिएको सो भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ । चेकजाँचका क्रममा महिला प्रहरीले ‘तँ’ भनेर सम्बोधन गरेको आरोप उनले लगाएकी छन् । सो भिडियोमा गायिका राउतले प्रहरीलाई ‘डण्ठे’ र ‘बन्दुके’ जस्ता अपशब्द प्रयोग गरेकी छन् । सांगितिक प्रस्तुति दिन सिक्किम जानेक्रममा उडान ढिलाइ भएको थियो । करिब ११ मिनेटको सो मिडियो उनले ‘प्रहरी मेरो साथी’ मजाक भएको तर्क गरेकी छन् ।