इटहरी : हिसान सुनसरीको स्पोर्टस मिट अन्तर्गत क्रिकेटको उपाधीका लागि विश्वआदर्श र कस्तुरी कलेज भिड्ने भएका छन् । बिहिबार भएको खेलहरुमा विजयी हुदै विश्वआदर्श र कस्तुरी कलेज उपाधी नजिक पुगेका हुन् । उपाधी भिडन्त शुक्रबार बिहान हुने आयोजकले जनाएको हो ।
बिहिबार बिहान भएको पहिलो सेमीफाइनल खेलमा विश्वआदर्श कलेजले पूर्वाञ्चल कलेजलाई सात विकेटले पराजित गदै फाइनल प्रवेश गरेको हो । दोसा्रे सेमिफाइनलमा सुष्मा गोदावरी कलेजलाई १ सय २३ रनले पराजित गर्दै कस्तुरी कलेजले विश्वआदर्शसंगको फाइनल भिडन्त पक्का गरेको छ । बिहिबार नै सम्पन्न फूटबलमा विजयी हँुदै धरानको एम्स कलेज र पूर्वाञ्चल कलेज सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहिबार सम्पन्न पहिलो खेलमा एम्स कलेजले डिपोट माविलाई टाइब्रेकरमा चार दुई गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । दोसा्रे खेलमा पूर्वाञ्चलले सियोन कलेजलाई दुई सुन्यले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । बिहीबार नै हुने भनिएको महेन्द्र मेमोरियलमाबि र सुष्मा कलेज बिचको खेल भने बिवादका कारण स्थगित गरिएको छ ।
स्पोर्ट मिटमा भलिबल(छात्र/छात्रा), बास्केटबल (छात्र/छात्रा), टेबल टेनिस (छात्र/छात्रा), ब्याडमिन्टन (छात्र/छात्रा), हाजिरीजवाफ, वक्तृत्वकला प्रतियोगिता सम्पन्न भैसकेका छन । शुक्रबार पाककला प्रतियोगिता पनि सम्पन्न गरिने बताइएको छ । सबै इभेन्टमा प्रत्यक्ष रुपमा १२ सय ५० भन्दा बढी र अप्रत्यक्ष रुपमा ८ हजार बढी विद्यार्थीहरुको सहभागिता रहने दाबी गरिएको छ । माघ ११ गते शनिबार विश्व आदर्श स्कुलमा आयोजना हुने समापन कार्यक्रममा राष्ट्रिय गीतमा नृत्य प्रतियोगिता हुने तथा सप्ताह भरीका विजयी विद्यालयलाई ट्रफी तथा प्रमाणपत्र साथै विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरिने छ । समापन समारोहका प्रमुख अतिथिका रुपमा हिसानका केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल रहने कार्यक्रम संयोजक सागर भटराईले जानकारी दिए ।


































































