धरान : धरान १४ विजयपुर स्थित ऋषिकुल विद्यापीठ गुरुकुललाई मितेरी डेभलपमेन्ट बैंकले एक लाख दश हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

हाल १० कक्षासम्म अध्ययन हुने ऋषिकुल विद्यापीठ गुरुकुल विद्यालयमा ६२ जना विद्यार्थीहरु रहेका छन् । संस्कृति संम्वद्र्धन तथा गुरूकुलको भौतिक विकासका लागि सहयोग स्वरुप विद्यालयलाई चेक हस्तान्तरण गरिएको मितेरी डेभलपमेन्ट बैंकका अध्यक्ष किसन मास्के बताए ।  चेक हस्तान्तरण गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी प्रसाद वस्तिले विद्यालयको लागि सहयोग गर्न पाएकोमा खुसि व्यक्त गरे ।

यसैगरी जिल्ला रेडक्रस सुनसरीका पूर्वसभापति टोम प्रसाद आचार्यले वार्षिक सहयोग स्वरूप मुठ्ठी दानका रूपमा २१०० रुपैयाँ दिने घोषणा गरे । गुरूकुलका संस्थापक पण्डित पुरुषोत्तम भट्टराई र प्राध्यापक नवराज ढुङगेलले विद्यालयलाई सहयोग गरेकोप्रति धन्यवाद आभार प्रकट गर्दै सो रकम सहि ठाउँमा सदुपयोग हुने बताए । संस्कृति संवद्र्धनका लागि यस्तो विद्यालय आजकोलागी अपरिहार्य रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी प्रसाद वस्तिले बताए । कार्यक्रम ऋषिकुल विद्यापीठ गुरूकुल व्यवस्थापन समितिका अध्यक्ष गौरि शंकर अग्रवालको अध्यक्षता तथा प्रा.डा.चन्द्रमणि नेपालको उपस्थितिमा भएको थियो ।