काठमाडौं: जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले ४ दिन अनुसन्धानको लागि हिरासतमा राख्न अनुमति दिएपछि प्रहरी हिरासतमा पुगेकी चर्चित गायिका आस्था राउत अस्पताल भर्ना भएकी छिन् ।

स्वास्थ्यमा समस्या देखिएको भन्दै गायिका राउतलाई हिजो सोमबार साँझ नै अस्पताल भर्ना गरिएको हो । उनलाई त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा राखिएको छ । ‘हाइपर टेन्सनका कारण स्वास्थ्यमा समस्या देखिएर गायिका राउतलाई अस्पताल भर्ना गरिएको काठमाण्डौं प्रहरी परिसर टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

विमानस्थलमा सुरक्षा जाँचमा रहेकी महिला प्रहरी रमिता श्रेष्ठसँग सामान्य भनाभन भएपछि गायिका राउतले फेसबुकमा लाइभमार्फत प्रहरीलाई गाली गरेकी थिइन् । सामाजिक सञ्जालमा आलोचना भएपछि उनले माफीसमेत मागेकी थिइन् भने जवान श्रेष्ठले उजुरी दिएकी थिइन् । मुद्दा दर्ता भएपनि राउत कार्यक्रमको सिलसिला सिक्किम गएकी थिइन् । उनी हिजो सोमबार प्रहरीमा उपस्थित भएपछि जिल्ला प्रशासन कार्यालय लगिएको थियो । प्रशासनले अनुसन्धानको लागि भन्दै उनलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।