मुम्बई : बलिउड अभिनेत्री सन्नी लियोन अब निर्माता पनि बन्ने भएकी छन् । उनको निर्माणमा बन्ने पहिलो फिल्मको सुटिङ सुरु भइसकेको छ । तर उनले फिल्मको नाम खुलाएको छैनन् ।

यसै वर्ष फिल्म रिलिज गर्ने भएकाले सन्नी उत्साहित छिन् । फिल्मको काममा उनका श्रीमान ड्यानियल वेबरले पनि सघाइरहेको जनाउँदै उनले भनेकी छन्, ‘मेरो फिल्ममा सामाजिक सन्देश छैन, यो साइकोलोजीकल थ्रिलर फिल्म हो ।’ सन्नीलाई बलिउडमा स्थान बनाउन निकै संघर्ष गर्नु परेको थियो । अब निर्माताका रुपमा पनि निकै संघर्ष गर्नुपर्ने उनको बुझाइ छ । सन्नीले वास्तविकता दर्शाउदै भनेकी छन्, ‘बलिउडमा सलमान, अमिर र शाहरुख खान वा उनीहरुकै स्तरका ठूला फिल्मवालाहरुलाई बाहेक अरुलाई निश्चित बजेटमै खुच्निुपर्ने हुन्छ ।’

सन्नीले आफूसँग कुनै इगो नरहेको जनाउँदै सुटिङ स्पटमा जरुरी परे अरुलाई चिया बाँड्न पनि तयार रहेको अभिव्यक्ति दिएकी छिन् । उनले भनेकी छन्, ‘मेरा लागि सबै बराबर हुन् । त्यसैले हाम्रो फिल्म निर्माण र सुटिङ निकै रोचक भइरहेको छ ।’