धरान: रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन २ का विजेता राम लिम्बुसहित फाइनलिष्टहरुको धरानमा लाइभ कन्सर्ट हुने भएको छ ।

पुर्वमा सांगीतिक टुरको क्रममा माघ २४ गते धरानको पब्लिक हाइस्कुलको मैदानमा लाइभ कन्सर्ट हुन लागेको हो । आयोजक रेडियो धरान ८८.८ मेगाहर्जले आइतबार होटल पुर्वी स्टारमा पत्रकार सम्मेलन गर्दै सोमबार मोरङको गछिया पछि बुधबार झापाको विर्तामोड, बुधबारेस्थित बुद्धशान्ति स्कुलमा कन्सर्ट हुने जानकारी दिएको छ । त्यसपछि, धरानमा माघ २४ गते पब्लिक हाई स्कुलको मैदानमा लाइभ कन्सर्ट हुने कार्यक्रम कोअर्डिनेटर डिजे मलिक स्याडोले जानकारी दिए ।

कम्सर्टको लागि भ्वाइस अफ नेपाल सिजन २ का विजेता राम लिम्बुसहित फाइनलिष्टको टोली धरान आइसकेका छन् । विजेता लिम्बुसहित फाइनलिष्ट आरिफ राउफ, सनिष श्रेष्ठ, विकास लिम्बुको पनि प्रस्तुती हुनेछ भने टप ८ मा पर्न सफल याङ्की यल्मो र टप १० मा परेकी अञ्जु राना मगरको पनि प्रस्तुती हुने आयोजकले जनाएको छ । धरानमा हुने कन्सर्टमा प्रोजेक्ट डी ब्याण्डले ब्याकअप दिनेछन् । उनीहरुको लगातार ३ घण्टाको प्रस्तुती पछि डिजे मलिक स्याडोको डिजेइङ पनि हुनेछ ।

voice-of-nepal

धरानको कार्यक्रम धरान १३ स्थित नशाको रोगबाट ग्रस्त बृद्ध रुद्र बस्नेतको सहयोगार्थ हुन लागेको हो । आयोजकले कन्सर्टबाट नाफा वा घाटा जे भएपनि बस्नेतलाई ३० हजार उपचारार्थ सहयोग गर्ने जनाएको छ । उनी धरान १३ शिवधारास्थित ट्रक व्यवसायी संघको कार्यालय हेरालु गर्छन् । उनीको परिवार छैन । करिब ६०, ७० हजार खर्च व्यवस्थापन भए उनले पुर्नजीवन पाउनेछन् ।

भ्वाइस अफ नेपालको उद्घोषक सुशील नेपालले रियालिटी शोले गीत,संगीतमा भविष्य खोज्ने युवाहरुलाई अवसर दिएको धारणा राखे । ‘उनीहरुले देश, विदेशमा विभिन्न सांगीतिक कार्यक्रमहरुमा भाग लिने मौका पाइराखेका छन्, यो नै ठुलो उपलब्धी हो,’उनले भने,‘अहिलेसम्म सिक्किम, कोरिया, हङकङमा प्रस्तुती भइसकेको छ । व्यक्तिगतरुपमा पनि उनीहरु धेरै ठाउँमा गइसकेका छन् । अब चाडै सिंगापुर, युकेको ९ ठाउँ, इजरायल, क्यानाडा, जापान, युएसमा हुदैछ ।’

सञ्चारकर्मीसँग कुराकानी गर्दै सनिष, अञ्जु, विकास र आरिफले भ्वाइस अफ नेपालमा सहभागीता जनाएपछि आफुहरुको परिचय फेरिएको र ब्यस्त जीवन भएको प्रतिक्रिया दिए । उनीहरुले आर्थिकरुपमा पनि आफुहरुलाई राम्रो फाइदा भएको बताए । ‘हामी सबैको जीवन परिवर्तन भएको छ । म्युजिक फिल्डमा संघर्ष गर्दा गर्दै एकाएक चर्चित भएका छौं,’ सनिषले भने ।