धरान : गायक प्रमोद पोर्तेलको ‘फर्कि आउँछु’ बोलको गीतले ‘वल्र्ड नेपाली म्युजिक अवार्ड २०१९’ मा नेपाली पप विधामा उत्कृष्ट अवार्ड थाप्न सफल भएको छ ।

नेपाली गीत संगीतको क्षेत्रमा पहिलो पटक गत नोभेम्बर २३ तारिखमा अमेरीकाको न्युयोर्क सिटिमा भएको अवार्डमा गायक पोर्तेलको ‘फर्कि आउँछु’ बोलको गीत उत्कृष्ट भएको हो । नेपाली पप विधामा संसार भरका ३३ राष्ट्रमा रहेको नेपाली संगीतकर्मीहरुको संलग्नतामा अवार्ड सम्पन्न भएको हो । उनको दुईवटा एल्बम ‘पहिचान’ र ‘माया हो’ बजारमा आइसकेको छ । उनको अवार्ड थाप्न सफल ‘फर्कि आउँछु’ बोलको गीत दोस्रो एल्वमको हो ।

‘फर्कि आउँछु’ बोलको गीतको भिडियोमा मुग्लानमा भोगिने दुःख र घर परिवारबाट टाढा हुदाँको पीडालाई प्रस्तुत गरिएको छ । साथै उक्त गीतले विदेशिएका युवाहरुलाई स्वदेशमा नै फर्किएर केही गरौं भन्ने सन्देश दिन खोजिएको छ । भिडियोमा गायक पोर्तेल, चर्चित नायिका केकी अधिकारीको मुख्य अभिनय रहेको छ । ‘फर्कि आउँछु’को शब्द, संगीत स्वयम गायक पोर्तेलले गरेका हुन् भने भिडियोको निर्देशन सुल्तान इदिंगोले गरेका हुन् । गायक पोर्तेल विजयपुर एफएम धरानका आरजे पनि हुन् ।