धरान : विर गोर्खाहरुको सम्झनामा हङकङमा आयोजना हुँदै आएको ‘गोर्खा टेलब्लेजर’ दौड आगामी चैत्र तेस्रो साता पहिलो पटक धरानमा हुने भएको छ ।

समिट्रिज ट्रष्ट नेपालको आयोजनामा प्रदेश १ सरकारको सहयोगमा पहिलो पटक धरानमा हुन लागेको हो । दौड प्रतियोगिता चैत्र २२ गते आयोजना गर्न लागिएको र स्वदेशी तथा विदेशी करिब ३ सय धावक धाविकाहरुले भाग लिने अपेक्षा रहेको ट्रष्टका अध्यक्ष महेन्द्र राईले बताए । हङकङमा सन् २००६ देखी हङकङमा यो दौड  प्रतियोगिता सुरु भएको हो । जसमा थुप्रै देशका धावक धाविकाहरुले भाग लिने गरेको अध्यक्ष राईको भनाई छ । नेपालमा गत वर्ष ट्रष्टको स्थापना गरिरएको हो । प्रतियोगिताको लागि कच्ची बाटो र भौगोलिक रुपमा डाडाकाडा भएको ठाउँलाई चाहिने उनले बताए । जसको लागि धरान आसपासमा दौडने ठाउँको खोजि भइरहेको छ । धावक धाविकाहरुले करिब १२ देखी १५ किलोमिटर दुरी पूरा गर्नुपर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा १६ वर्षमाथीका धावक धाविकाहरुले मात्र सहभागी हुन पाउने आयोजकले जनाएको छ । जसमा सहभागी शुल्क २ सय रुपैयाँ लाग्ने र मेडल, टि–सर्ट र जुसको व्यावस्था आयोजकले गरिदिने प्रचार प्रसार संयोजक विकास चाम्लिङले जानकारी दिए । दौडमा अल्ट्रा धाविका मिरा राई समेत आउने सम्भावना रहेको आयोजकले जनाएको छ । ‘मिरालाई कार्यक्रममा ल्याउनको लागि  कुरा भइरहेको छ, उसको समय के हुन्छ हेरौं ।’ ट्रष्टका अध्यक्ष राईले भने ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने महिला र पुरुषले जनही नगद २५ हजार, १५ हजार र १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । गोर्खाहरुको सम्झनामा ट्रष्टले दौड प्रतियोगितासंगै विभिन्न कार्यक्रमको आयोजना गर्न लागेको ट्रष्टका अध्यक्ष राईले जानकारी दिए । नेपालमा ट्रष्टको स्थापना गत वर्ष भएको हो । आगामी चैत्र १५ गते काठमाडौंमा कबिता गोष्टीको आयोजना गर्ने र चैत्र २३ गते पूर्खा दिवश मनाउने जनाएको छ । ‘खोर्खाली’ को नामले विश्वमा चिनिएका बिर गोरर्खालीहरु विश्वमा शान्ति स्थापना गर्नको लागि खटिने क्रममा सहादत प्राप्त गरेको सम्झनामा यो कार्यक्रम गर्न लागेको ट्रष्ट जनाएको छ ।