झापा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल दुई दिनका लागि झापा आउने भएका छन् ।
सुखानी शहिद स्मृति दिवसको अवसर पारेर दुवै अध्यक्ष झापा आउने नेकपा झापाका युवा नेता शिव ढुङ्गेलले जानकारी दिए । दुवै अध्यक्ष सहित पार्टीका महासचिव विष्णु पौडेल र गृहमन्त्री राम बहादुर थापा ‘बादल’ झापा आउने निश्चित भएको ढुङगेलले बताए ।
फागुन २० गते हुने १ नं. प्रदेश स्तरीय प्रशिक्षण र २१ गते बिर्तामोडमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्न नेताहरु झापा आउने भएका हुन् । प्रशिक्षण बिर्तामोडको साई प्यालेस र आमसभा सुगम पेट्रोल पम्प नजिकैको खुला मैदानमा हुने नेकपा झापाका अध्यक्ष चिन्तन पाठकले जानकारी दिएका छन् ।
आमसभामा झापाका ३२ हजार पार्टी सदस्यलाई निमन्त्रण गरिएको ढुङगेलले जानकारी दिएका छन् । उनका अनुसार १९ गते प्रदेशको पार्टीको बैठक पनि बिर्तामोड स्थित पार्टी कार्यालयमा तयारी गरिएको छ ।