धरान : धरानमा पछिल्लो समय सर्वसाधारण ठगिएका घटनाहरू दोहोरिन थालेका छन् ।

सल्लेरी बचत तथा ऋण सहकारी संस्थाको घटना सेलाउन नपाउँदै धरान ३ मा रहेको न्यु जयन्ती स्टोरका सञ्चालक योवन खड्गीले एक महिना देखी सुन पसल नखोल्दा सर्वसाधारणले आफू ठगिएको भन्दै घर घेराउ गरे ।

लगातारको घर घेराउ पछि न्यु जयन्ती स्टोरका सञ्चालक योवन खड्गीको श्रीमती गीता खड्गीलाई प्रहरीले इलाका प्रहरी कार्यालय लगेर एक दिन राखेको थियो भने योवनको गाडी इलाका प्रहरी कार्यालयमै राखिएको छ । दैनिक पीडितले घर घेर्न थाले पछि सुरक्षाको लागि खड्गीको श्रीमतीलाई प्रहरीले लगेको थियो ।

त्यसको भोलि पल्ट योवन खड्गीले धरान ३ का वडाध्यक्ष आशाकुमार श्रेष्ठलाई म विदेशमा छु, कोरोनाको कारण फसेको छु भन्दै भिडियो कल गरेका थिए । त्यस पछि उनले आफ्नो फेसबुकमा म सबैको पैसा तिर्छु, मेरो फ्लाइट हुने बित्तिकै म आउँछु चिन्ता नगर्नुहोस् म यो कोरोना भाइरसले गर्दा फसेको छु भनेर लेखेका थिए ।

उनले फेसबुकमै धरान ३ कै मनिष खड्गी र नैनकला न्यौपानेलाई पनि फोटो सहित फेसबुकमा पोस्ट गरेर आरोप लगाए । मनिष खड्गी र नैनकला न्यौपानेले पनि स्थानीय सञ्चार माध्यममा सूचना प्रकाशित गरी योवन खड्गीको आरोपको खण्डन गरेका छन् ।

New-Jayanti-2
१८ प्रतिशत व्याज दिने भन्दै सर्वसाधारणलाई लोभ देखाएर योवन खड्गीले धेरै सर्वसाधारणको रकम सङ्कलन गरेको र उनी छोरीलाई अस्ट्रेलिया उडाउने बहानामा काठामाण्डौ हिँडेका उतैबाट बेपत्ता भएका हुन् । यसरी बेपत्ता भएका न्यु जयन्ती स्टोरका सञ्चालकले करिब १२ करोड भन्दा बढी रकम लिएर भागेको पीडितले आरोप लगाएका छन् ।

New-Jayanti-1

फेसबुकमा पैसा तिर्ने भनेर लेखेपछि अहिले सर्वसाधारणले उनको घर घेराउ गर्न छाडेका छन् । केही दिन अघि ३ नं. वडा कार्यालयमा ४ जना पीडितले संयुक्त निवेदन दिई खोजी गरी पाउ भनेको ३ नम्बर वडाका वडा सदस्य विकास बनेपालीले बताए । आज सोमबार फेरी न्यु जयन्ती स्टोरबाट पीडित भएका समूहले वडा कार्यालयमा पुगेर पीडित भएको प्रमाणित गरी दिनुपर्यो भनेका छन् ।

पछिल्लो समय भने न्यु जयन्ती स्टोरका सञ्चालक योवन खड्गी पारिवारिक सम्पर्कमा रहेको बताइएको छ । उनी अहिले पोर्चुगलमा रहेको बताएको वडा सदस्य बनेपालीले बताए । पीडितहरूले समस्या लिएर वडा कार्यालयमा आएकोले वडा कार्यालयले समय मिलाएर यस सम्बन्धमा छलफल गर्ने वडा सदस्य नेपालीले बताएका छन् ।

प्रहरीमा खड्गीका श्रीमतीले खोजी गरी पाउ भन्ने निवेदन बाहेक अरू सर्वसाधारण पीडितहरूले उजुरी नदिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

धरानका सबै सुन पसलमा अवैध कारोबार :

धरानका सबै जसो सुन पसलहरूमा कानुन विपरीत सर्वसाधारणले सुन र पैसा राखेर कारोबार गर्ने गरेका छन् ।
सरकारले सुन पसलहरूमा कारोबार नगर्न भनिसकेको छ । तर पनि सर्वसाधारण धेरै ब्याज पाउने र सुन राख्दा सहजै पैसा झिक्न पाउने भन्दै यस्ता पसलहरूमा कारोबार गर्ने गर्दछन् ।

यस्तो कारोबारलाई भने प्रहरीले अवैध कारोबार भन्दै आएको छ । प्रहरीका अनुसार धरानका केही सुन पसलहरूले पास बुक सहित करोवार गर्दे आएको पनि प्रहरीलाई जानकारी पुगेको छ ।

यदि पासवुक लिएर आर्थिक कारोबार कुनै पनि सुन पसलले गरेको फेला परेको खण्डमा प्रहरीले तुरुन्त कारबाही गर्ने इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपाने बताउँछन् ।

आर्थिक कारोबार कानुन अनुसार हुनुपर्ने विज्ञको सुझाव :
धरानमा धेरै जसो सर्वसाधारण नगरपालिका, कर कार्यालयबाट प्यान र भ्याटमा दर्ता भएका सुन पसलहरूबाट बढी आर्थिक कारोबार गर्ने गरेका छन् ।

यसो हुनुको मुख्य कारण बैकिंङ प्रक्रिया झन्झटिलो हुनु र यस्ता पसलहरूमा सहजै पहुँच पुग्नुले हो । तर पनि सर्वसाधारण सुरक्षित हुनका लागि बैक नभए पनि वित्तीय संस्था ऐन अन्तर्गत कारोबार हुने ठाउँबाट गर्नुपर्ने रेमिटेन्सबाट विद्यावारिधि गरेका डा. राजेन्द्र शर्माको सुझाव छ ।

पहिलो कुरा दोकान खोल्दा सहजै अनुमति दिइने भएकोले पनि त्यस्ता पसले र सञ्चालकले सर्वसाधारणलाई ठग्ने गरेका छन् । यसका लागि प्यान र भ्याट मात्रै होइन सुन पसल नै सञ्चालन गर्ने हो भने केही रकम धरौटी राख्ने पनि व्यवस्था गरे यस्तो घटना नदोहोरिने डा. शर्माको भनाई छ ।