विश्व अर्थतन्त्रमा गम्भीर मन्दीको अवस्था आउने अन्तर्राष्ट्रिय मुद्रा कोषले बताएको छ । तीव्र गतिमा विश्वभरको आर्थिक गतिविधि गिर्दो क्रममा रहेकाले यो वर्ष विश्वको आर्थिक वृद्धिदर मात्रै तीन प्रतिशतको हाराहारीमा रहने आइएमएफले जनाएको छ ।
पछिल्ला केही दशक यताकै गम्भीर आर्थिक संकटको अवस्थामा विश्व पुग्न लागेको जनाइएको छ । कोरोना भाइरसको महामारीका कारण विश्वभरको आर्थिक गतिविधि ठप्प प्रायः रहँदा तीव्र गतिमा गिरावट आएको हो । अर्थतन्त्रमा आएको गिरावट सन् १९३० को दशकको ग्रेट ड्रिप्रेसन यताकै खराब रहेको आइएमएफले जनाएको छ ।
लम्बिँदै गएको महामारीमा त्यसबाट उत्पन्न संकट नियन्त्रण गर्ने सरकार तथा तिनका केन्द्रीय बैंकको क्षमता परीक्षण हुने आइएमएफले बताएको छ ।
आइएमएफकी प्रमुख अर्थशास्त्री गिता गोपिनाथनका अनुसार अहिलेको संकटले आउँदो दुई वर्षमा विश्वभर ९ ट्रिलियन अमेरिकी डलर बराबरको कुल ग्राहस्थ उत्पादनमा असर गर्ने छ ।
विज्ञहरुले महामारी यो वर्षको मध्यमा अन्त्य भएमा आउँदो वर्ष सन् २०२१ मा विश्वको आर्थिक बृद्धिदर ५.८ प्रतिशत पुग्ने बताएका छन् ।