इटहरी : लकडाउनको बेलामा दैनीक रोजीरोटी गुमेका मजदुरको सहारा बनेकी छिन् सांसद बिन्दीया कार्की ।
सरकारले दिने राहतले पनि परिवार पाल्न मुस्किल परेका मजदुरको पेट भर्ने काममा लागेकी छिन् उनी । सांसद कार्की लगायत उनको टिमले कोसी अस्पतालका बिरामी कुरुवा र श्रमिकको भोक मेटाउने काम गरिरहेको छ ।
सांसद कार्कीको नेतृत्वमा एक महिना देखी सयौँ मजदुरलाई खाना खुवाउने अभियान चलिरहेको छ । उनी सँगै तरुण दलका अन्य नेताहरूले पनि अभियानमा साथ दिइरहेका छन् ।
‘लकडाउन लगत्तै जनताले फोन गरेर तपाई त माननीय हो सहयोग गर्नुपर्यो भने । सरकार सँग केही पहल गर्दिनु पर्यो भन्दै फोन आउन थाल्यो ।,’ अभियान बारे कार्कीले सुनाइन् ,‘सरकार सँग के माग्ने जस्तो लाग्यो । त्यसपछि आफै गरिबका घरमा गएर हेर्दा बिजोग देखेँ । अनि सक्दो राहत वितरण सुरु गर्न थालेँ ।’

सरकारले पहिलो १ साता पछि १० दिनको लागी थपेको लकडाउनबाट धेरै मजदुरको चुलो बल्न छाडी सकेको थियो । सरकारले ५ जना र १० जनाको परिवारलाई बराबर राहत वितरण गरिरहेको थियो । १० जना सदस्य हुने परिवारमा समस्या पर्न थालीसको थियो । त्यसै बिचमा कार्कीले घरैमा पुगेर राहत वितरण सुरु गरिन् । जुन कुरा बाहिर हल्ला हुन थाल्यो । त्यसपछि हामी पनि दिन्छौ भन्दै अन्य नेता तथा व्यापारीले सम्पर्क गर्न थाले ।
त्यससँगै कोसी अस्पतालका बिरामी कुरुवालाई खाना खुवाउने अभियान सुरु गर्ने योजना बनाइन । सोही योजना अनुसार नै तरुण दलले सहयोग गर्ने भयो । केही युवाहरू समेत सो अभियानमा सामेल भए ।
विभिन्न व्यापारी तथा दाताको सहयोग जुट्न थाल्यो । अस्पतालको गेट नजिकै खाना वितरण सुरु भयो । जहाँ एम्बुलेन्स चालक देखी अस्पतालका कर्मचारीले समेत खाना खान पाएका छन् । दैनिक ३ सय नागरिकले खाना खाने गरेको कार्कीको भनाई छ ।
कोरोना सङ्क्रमण फैली रहेको बेला अस्पताल आफैमा जोखिमयुक्त क्षेत्र हो । नेपाल तरुण दल केन्द्रीय पार्सद समेत रहेकी उनी जोखिमका बिचमा मजदुर तथा बिरामी कुरुवाको सेवामा लागेकी छिन् ।
सुरुमा अभावमै अभियान सुरु गरे पनि पछिल्लो समय राहत सामग्री जुट्न थालेको उनी बताउँछिन् । आफूहरू रोग लाग्लाकी भनेर बन्दा बिरामीहरू खान नपाएर मर्लान् भन्ने पिरले अभियान थालेको उनको भनाई छ ।
अस्पताल भित्रको चमेना गृहमा सबैले खान सक्ने अवस्था छैन । अस्पतालका सुरक्षा गार्ड, सरसफाइ कर्मचारी र अन्य मजदुरहरूको लागी कुनै व्यवस्था छैन । त्यही समस्यामा कार्की लगायत तरुण दलको अभियानले ठुलो सहयोग पुर्याएकोछ ।
खानाको लागी मात्र दैनिक ८ हजार खर्च हुने उनले बताइन । त्यसको अलावा सडकमा खटिएका प्रहरी जवानलाई खाजा खुवाउने काम पनि भइरहेको छ । कार्कीले आफ्नो व्यक्तिगत खर्चमा प्रहरीको सेवा गरेको बताइन् । चर्को घाममा मास्क बिनै सुरक्षामा खटिएका प्रहरीलाई मास्क, खाजा र पानी वितरण गरी रहेकी छिन् ।
‘घर परिवारबाट यस्तो अवस्थामा नहिँड्न दबाब आइरहेको छ । तर मैले बाचे भने राजनीति गरौला तर अहिले अरूलाई बचाउनु पर्छ भनेर सम्झाउँछु ।,’ उनी भन्छिन्, ‘आफूहरूको सानो प्रयासले दैनिक सयौँ मजदुरले खान पाएका छन् । उनीहरू बाचेका छन् ।’






































































