धरान : धरान-१८ मा प्लाष्टिकको चामल भेटिएको भन्ने हल्ला भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग सुनसरीले गरेको ल्याब परीक्षणको क्रममा प्लाष्टिकको नभएर प्राकुतिक चामल प्रमाणित भएको छ ।
धरान-१८ मा विहिबार प्लाष्टिकको चामल भेटिएको गुनासो पछि धरान उपमहानगरपालिका अनुगमन अधिकृत बेद प्रसाद सापकोटाले चामल सुरक्षित राखि आज शनिबार बजार ब्यवस्थापन समितिकी संयोजक तथा उपमेयर मञ्जु भण्डारीको अध्यक्षतामा तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग सुनसरीको उपस्थितमा गरेको ल्याब परीक्षणको क्रममा प्लाष्टिकको चामल नभएर चामल प्राकुतिक नै भएको प्रमाणित गरेको हो ।
चामल प्लाष्टिककै हो या प्राकुतिक हो भनि प्रमाणित गर्नकालागि जिल्ला खाद्य प्राविधिक बिक्रम लिम्बूको टोलि आएर परीक्षण गरेको थियो । उनका अनुसार आयोडिन मिसाएर परीक्षण गर्दा सुरुमा आयोडिनको रङ्ग ‘गोल्डेन ब्राउन’ हुने र हालेको केही समयपछि ‘लाइट ब्राउन’ भएकाले पनि प्लाष्टिकको चामल नभएको प्रमाणित गरे ।
धरान-५ मा पनि प्लाष्टिकको चामल भेटिएको भन्दै धरान उपमहानगरको बजार अनुमगन समितिको टोली पुगेर खाद्य प्राविधिक लिम्बूले विश्वभरि प्लाष्टिकको चामल भेटिएको भन्दै हल्ला आउने गरे पनि ल्याबमा परीक्षण गर्दा त्यस्तो नभेटिएको बताए ।
घरेलु उपायमार्फत् पनि चामलको परीक्षण गर्दा यदि प्लाष्टिकको चामल छ भने पानी हाल्ने बित्तिकै तैरिन्छ । अर्को कुरा चपाउँदा चुइगम जस्तो हुने,डढाउँदा पग्लिने लिम्बूले बताए ।


































































