इटहरी : इटहरीका मेयर द्वारीकलाल चौधरीले अवको दुईबर्षभित्र इटहरीका सबै मूलबाटोहरू कालोपत्रे गरिसक्ने बताएका छन् ।
स्थानीय एक रेडियोलाई अन्तरवार्ता दिने क्रममा उनले आफ्नो कार्यकालमा त्यति गर्न नसके राजनीतिवाटै सन्यास लिने बताएका छन् । उनले भने “गाउँका मूलबाटोहरू पनि कालोपत्रे गर्न नसके किन राजनीति गर्नु ?” गाउँ गाउँका जनतालाई उपमहानगरवासी भएको अनुभूति दिलाउन वहुबर्षे सडक योजना अन्तर्गत मूल बाटोहरू कालोपत्रे गर्ने कार्य धमाधम सञ्चालन भइरहेको मेयर चौधरीले बताएका छन् । गाउँ गाउँमा कालोपत्रे सडक बनिरहँदा जनता खुसी र उत्साहित वनेको मेयर चौधरीको भनाई छ ।
वहुवर्षे योजना बाहेक ठेक्का मार्फत १७ वटा योजनाको निर्माण कार्य जारी रहेको जानकारी पनि दिएका छन् । चालु आर्थिक वर्षमा उपभोक्ता समिति मार्फत सञ्चालन गरिने ४ सय ८० वटा वडा स्तरीय योजना स्वीकृत भएकोमा १ सय ३४ वटा सम्पन्न भइसकेको जानकारी दिँदै मेयर चौधरीले भने, “२सय ५९ योजना धमाधम सञ्चालन भइरहेका छन् ।’’
मेयर चौधरीका अनुसार २ सय १० वटा नगर स्तरीय योजना स्वीकृत भएकोमा २ सय ६ वटाको सम्झौता भई ६१ वटा सम्पन्न भएका छन् । १ सय ४५ वटा योजनाको निर्माण कार्य भइरहेको छ । इटहरीमा भौतिक पूर्वाधार निर्माण तर्फ उल्लेख्य प्रगति हुने मेयर चौधरीको दाबी छ ।
आगामी आर्थिक वर्षमा भौतिक पूर्वाधार निर्माण,स्वास्थ्य र कृषिलाई प्राथमिकता दिइने बताए । आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि कृषिमा आत्मनिर्भर बनाउन उल्लेख्य बजेट विनियोजन गरिने मेयर चौधरीले जानकारी दिएका छन् ।


































































