धरान : जनता समाजवादी पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो ट्विटमा सम्मानित ब्राह्मण पुरोहितलाई टपरे भनेकोमा ब्राह्मण समाज नेपालले आपत्ति जनाएको छ ।

पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले आफ्नो सामाजिक सञ्जालमा टपरे शब्द उल्लेख गरेको भन्दै समाजले इलाका प्रशासन कार्यालय धरानमा ज्ञापन पत्र समेत बुझाएको छ । समाजका अध्यक्ष उद्भव प्रसाद अधिकारी र सचिव कमल प्रसाद भट्टराईद्वारा हस्ताक्षरित सो ज्ञापन पत्रमा विगत लामो समयदेखि ब्राह्मण वर्गलाई विभिन्न व्यक्ति तथा केही साम्प्रदायिक संस्थाहरूबाट समेत अनेक प्रकारका लाञ्छना लगाउनुका साथै बेलाबेलामा विविध तरिकाले अवहेलना र तेजोवध गरिएको भनी ब्राह्मण समाज नेपालले असन्तुष्टि व्यक्त गरेको छ ।

डा. भट्टराईले केही समय पहिले हिन्दूधर्मावलम्बीहरुले मान्दै आएका विभिन्न धार्मिक संस्कारहरू सम्पादन गर्ने गुरुपुरोहितहरुलाई आफ्नो ट्वीट् मार्फत निकृष्ट शब्द प्रयोग गरी ‘टपरे’ भन्दै सम्मानित गुरु पुरोहित वर्गलाई हेप्ने कार्य गरिएकोमा ब्राह्मण समाज नेपालको गम्भीर ध्यानाकर्षण भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

पूर्व प्रधानमन्त्री जस्तो सम्मानीतले प्रयोग गरेको शब्दले वैदिक कर्मकाण्ड गर्ने गुरु पुरोहितहरू मान मर्दन भएको ठहर गर्दै उक्त क्रियाकलाप प्रति ब्राह्मण समाज नेपालले खेद प्रकट गरेको छ ।  यस्ता अमानवीय र समाज विरोधी गतिविधि खुल्ला रूपमा हुँदा राष्ट्रले कानुन बमोजिम कारबाही नगरेकोमा ब्राह्मण समाज नेपालले दुःख पनि व्यक्त गरेको छ ।

हरेक व्यक्तिले अपनाउने पेसा र कर्मको सम्मान गर्दै आइन्दा यस्ता निकृष्ट हर्कतहरु कतैबाट भए गरिएमा तुरुन्त कारर्वाही गर्न समेत ब्राह्मण समाज नेपाल धरान उपमहानगरसमितिले नेपाल सरकार समक्ष जोडदार माग गरेको छ ।