धरान : सुनसरी हरिनगर गाउँपालिकामा २०७६ असारमा एउटा शङ्कास्पद मृत्यु भयो । स्थानीय ४३ वर्षीय रसिदा खातुनको हत्या २०७६ असार ९ गते शङ्कास्पद मृत्युको विषयमा प्रहरीले अनुसन्धान गर्दा भने हत्या भएको निष्कर्ष पाइएको छ ।

रसिदाको कालगतले मृत्यु भएको भन्दै उनकै श्रीमान स्तुल मियाँलाले मुस्लिम समुदायको परम्परा अनुसार दाहसंस्कार गरेका थिए । दाहसंस्कार पछि प्रहरीमा कालगतले नभई हत्या भएको सूचना पुगेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

दाहसंस्कार गरेकै दिन स्थानीयहरूले मानिसक सन्तुलन ठिक नभएकी रसिदाको शङ्कास्पद मृत्यु भएको भन्दै प्रहरीमा सूचना दिएका थिए । विशेष स्रोतबाट मानसिक सन्तुलन ठिक नभएकी श्रीमतीको हत्या गरेको विषयमा प्रहरीले सूचना पाएपछि असार १० गते नै अनुसन्धान सुरु गरेको थियो ।

हत्या भएको नभएको यकिन गर्न प्रहरीले दाहसंस्कार गरेको भोलि पल्ट अर्थात् २०७६ असार १० गते नै गाडिसकेको शव उत्खनन गरेर पोस्टमार्टममा पठाएको थियो । गाडेको लासको विषयमा प्रहरीले हत्या भएको कोणबाट अनुसन्धान सुरु गरेको थियो ।

लास पोस्टमार्टममा पठाएर हत्याको आरोप लागेको मृतकको श्रीमानको खोजी गर्दा फरार रहेकोले पनि प्रहरीलाई थप हत्या भएको निष्कर्ष निकाल्न सहयोग मिल्यो । दाहसंस्कार गरिसके पछि असार ९ गते देखिने मृतकका श्रीमान फरार भएका थिए ।

प्रहरीका अनुसार सुनसरिको गौतमपथमा चिहानगाटको बारिमा गाडिएको शव उत्खनन गरी पोस्टमार्टम गर्न बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुर्‍याएको थियो । पोस्टमार्टम रसिदा खातुनको घाँटी थिचेर हत्या गरिएको भन्ने आशयको रिपोर्ट आएपछि प्रहरीले उनको श्रीमानको खोज कार्यलाई तीव्रता दिएको थियो ।

घटनापछि फरार भएका कारण अनुसन्धानका लागि प्रहरी प्रतिवेदन अनुसार मियाँको नाममा सुनसरी जिल्ला अदालत इनरुवाले ३ चैत २०७६ मा पक्राउ पुर्जी जारी गरेको थियो । एक वर्षयता फरार भएका मियाँ बुधवार आफैँ उपस्थित भएपछि मुलुकी फौजदारी कार्यविधि (संहिता) २०७४ अनुसार १० दिन म्याद थप गरी अनुसन्धान सुरु गरिएको सुनसरी प्रहरी प्रमुख कमल थापाले बताए ।

यस अघिका सुनसरी प्रहरी प्रमुख यज्ञ विनोद पोखरेलले भने घटनामा परिवारको पनि संलग्न रहेको हुँदा थप अनुसन्धान गर्नुपर्ने बताउँछन् । कपुरी न्युजसँग कुरा गर्दै पोखरेलले शवको पोस्टमार्टमको रिपोर्ट प्रस्ट नभएपछि भिसेरालाइ परीक्षणमा पठाएको समेत बताए ।