धरान : सुनसरीमा पछिल्लो समय क्वारेनटाइनमा बस्नेहरूको सङ्ख्या घटेको छ ।
स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङथेपले दिएको जानकारी अनुसार सुनसरीमा क्वारेनटाइनमा १ हजार भन्दा बढीलाई राखिएको थियो भने अहिले आएर ४ सय ४१ जना मात्रै क्वारेनटाइनमा रहेका छन् ।
यसरी क्वारेनटाइनमा बस्नेको सङ्ख्या घट्नुको मुख्य कारण क्वारेनटाइनमा बस्नेहरूको चाँडो चाँडो स्वास्थ्य परीक्षण हुनु र नेगेटिभ रिपोर्ट आएकाहरूलाई डिस्चार्ज गरिने भएकोले क्वारेनटाइनमा बस्नेको सङ्ख्या घटेको हो । सुनसरीमा अहिले सम्म २ हजार १ सय १९ जनाको आरडिटी परीक्षण गरिएको छ भने ४ हजार ३ सय ९९ जनाको पिसिआर परीक्षण गरिएको छ ।
जस मध्ये आरडीटी पोजेटिभ २६ र पिसिआर रिपोर्टमा ९३ जनाको पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङथेपले जानकारी दिएका छन् । ९३ जना कोरोना सङ्क्रमित मध्ये सुनसरीमा ६६ जना निको भएर घर फर्किसकेका छन् । अहिले २७ जना कोरोना सङ्क्रमितहरू अस्पतालमा उपचाररत रहेका छन् ।
कोरोनाको चाँडो चाँडो परीक्षण हुँदा क्वारेनटाइनमा बस्नेको सङ्ख्या घटेको र क्वारेनटाइन व्यवस्थापन गर्न पनि सहज भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।




































































