धरान : १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रको प्राङगणमा १३७ औं  प्रहरी जवान आधारभुत तालिममा ८२१ जना प्रहरी जवानहरु दिक्षित भएकाछन । जसमा ९८ जना महिला र ७२३ पुरुष गरी ८२१ जना प्रहरी जवानहरु दिक्षित भएको थिए ।

मिति २०७६ साल श्रावण २० गते देखी संचालित प्रहरी जवानको १३७ औ समुहको २ सय ३४ कार्यदिनको आधारभूत तालिम १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीको प्रमुख आतिथ्यतामा दिक्षान्त समारोह सम्पन्न भएको हो । दिक्षान्त समारोहमा प्रशिक्षार्थीहरुलाई नेपालको संविधान बमोजिम तालिम केन्द्रका समादेशक टेक बहादुर तामाङले सफत ग्रहण गराएका हुन ।

१३७ औ समुहको दिक्षान्त समारोहका प्रमुख अतिथी प्रहरी नायव महानिरीक्षक कार्कीले कोभिड ९१९ को उत्पन्न परिस्थितिमा सुरक्षाको कारण प्रशिक्षार्थीहरुका अभिभावक, संचारकर्मी तथा अन्य ईष्टमित्रलाई समारोहमा आमन्त्रण गर्न नसकिएको प्रति दुःख लागेको बताउँदै, नेपाल प्रहरी मार्फत राष्ट्रको सेवा गर्न प्रहरी संगठन रोजेकोमा दिक्षित प्रहरीका परिवारजनमा आभार व्यक्त गरेका थिए । साथै कार्यक्षेत्रमा मन बचन र कर्मले निष्ठापुर्वक, ईमान्दार र बफादारी भई उच्च मनोवलका साथ जनताको सेवामा खटिन दिक्षित प्रहरी जवानहरुलाई शुभकामना सहितको निर्देशन दिएका थिए ।

सोही समारोहमा डिआइजी कार्कीले तालिम केन्द्रबाट प्रकाशित प्रहरी जवान स्मारीका २०७७ को बिमोचन समेत गरेका थिए । तालिम अवधीमा चरणगत परिक्षाको प्राप्ताङको आधारमा प्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी जवान बिजय सिंह कार्कीलगायत विभिन्न १० बिधामा उत्कृष्ट भएका प्रशिक्षार्थीहरु र तालिमका प्रशिक्षकहरुलाई प्रमाणपत्र तथा नगद पुरस्कारद्धारा पुरस्कृत पनि प्रदान गरिएको थियो । दिक्षान्त समारोहमा तालिम केन्द्रका समादेशक तामाङले धन्यवाद ज्ञापन गर्दै दिक्षित प्रहरी जवानहरुले सिकेका ज्ञानलाई आफ्नो कार्य क्षेत्रमा पालना गरे अपराध अनुसन्धानमा टेवा पुग्ने बताए ।