धरान : सोमबार गृह मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणको उच्च जोखिमलाई मध्यनजर गरी देशैभर मास्क अनिवार्य गरेकोमा सुनसरी जिल्ला प्रशासन कार्यालय सुनसरीले पनि मास्क अनिवार्य भन्दै सूचना जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी असार २२ गतेको गृह मन्त्रालयको पत्र अनुसार कोभिड १९ को सङ्क्रमण रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि नेपाल सरकारबाट जारी गरिएको लक डाउन सहजीकरणको लागि सङ्क्रमणको जोखिमको अवस्था मूल्याङ्कन गरी जनस्वास्थ्य र सुरक्षा मापदण्ड कडाइपूर्वक पालना गर्न गराउन भन्दै सूचनाको कार्यान्वयन नगर्नेलाई सङ्क्रमण रोग ऐन २०२० बमोजिम कडा कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ ।

घर बाहिर हिँडडुल गर्दा सार्वजनिक स्थलमा जाँदा अनिबार्यरुपमा कम्तीमा २ मिटरको सामाजिक दुरी कायम गरेर मात्र आवत जावत गर्ने, सार्वजनिक सेवा प्रवाह गर्ने सार्वजनिक निकायहरूमा सेवाग्राही तथा सेवा प्रदायकले अनिवार्यरुपमा २ मिटरको सामाजिक दुरी कायम गर्ने, अनिवार्यरुपमा मास्कको प्रयोग गर्ने र साबुन पानीले बारम्बार हात धुने तथा स्यानिटाइजरको प्रयोग गर्ने र अनाबश्यकरुपमा भिडभाड नगर्ने, स्वास्थ्य र सुरक्षाका न्यूनतम मापदण्ड अनिवार्यरुपमा परिपालना गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

गृह मन्त्रालयको निर्देशन र पत्रलाई जिल्ला तह सम्म कार्यान्वयन गराउनका लागि जिल्लाका सबै निकायलाई निर्देशन दिई सकिएको प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए । पछिल्लो समय सुनसरी जिल्लामा सर्वसाधरणहरुको सार्वजनिक स्थलहरूमा बाक्लो उपस्थिति देखिएकोले जिल्ला प्रशासन कार्यालयले यसबारेमा सुरक्षा सतर्कता अपनाइने रहेको पनि प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

यो निर्णयको कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालयलाई माइकिङ गर्ने र भोलि देखि कडाईरुपमा कार्यान्वयनमा जाने बताइएको छ ।

CDO-Suchana