धरान : धरान उपमहानगरपालिकाको वडा नम्बर ३ र १९ का २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

धरान १७ को एन्फा क्वारेनटाइनमा बसेका कतारबाट आएका धरान १९ का एक पुरुष र भारतको दिल्लीबाट आएकी धरान ३ की ३६ वर्षीय महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।

उनीहरूमा सङ्क्रमण पुष्टि भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा पठाइसकेको स्वास्थ्य महाशाखा प्रमुख मेहताले बताएका छन् ।

यसै गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज कोरोनालाई जितेर ११ जना डिस्चार्ज भएका छन् ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले दिएको जानकारी अनुसार झापाका ७ जना र सुनसरीका ४ जना गरी ४ पुरुष, ७ महिलाको पछिल्लो पिसिआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएकोले आज उनीहरूलाई डिस्चार्ज गरिएको हो ।

यो सँगै प्रतिष्ठानबाट डिस्चार्ज हुनेको सङ्ख्या २ सय ११ पुगेको छ । प्रतिष्ठानमा पछिल्लो २४ घण्टाको अवधिमा ५ जना नयाँ कोरोना सङ्क्रमित उपचारका लागि आइसोलेसनमा भर्ना भएका छन् । अहिले प्रतिष्ठानको आइसोलेसनमा ४७ जना कोरोना सङ्क्रमित उपचाररत रहेको प्रतिष्ठानले जनाएको छ ।