धरान : तेह्रथुममा माइत जानेक्रममा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका ९ बस्ने ३६ वर्षीय अन्जना लिम्बुलाई खोलाले बगाउँदा उनको मृत्यु भएको हो ।
सोमबार दिउसो १२ बजे जिरिखिम्तीबाट छथरमा रहेको आफ्नो माइती घर तर्फ जाने क्रममा ढाडे खोला तर्दै गर्दा अन्जनालाई खालाले बगाई बेपत्ता बनाएको थियो । बेपत्ता भएकी उनलाई खोजी गर्ने क्रममा आज दिउसो सवा ३ बजे १ किलोमिटर तल खोलाको बिचमा काँठमा अल्झिएको अवस्थामा अन्जना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । साथै अंजनासंगै गएका उनका श्रीमान् भने खोलाबाट निस्कन सफल भएका छन् । उनलाई भने जिल्ला अस्पताल तेह्रथुममा उपचारका लागि लगिएको छ ।
यसै गरी धरान निरन्तरको वर्षाका कारण पूर्वी पहाडी जिल्लामा बाढी र पहिरोले क्षति पुर्याएको छ ।
धनकुटा जिल्लामा पहिरोले ५ घर विस्थापित भएका छन् । वर्षासँगै खसेको पहिरोले महालक्ष्मी नगरपालिका वडा नं. ५ लेगुवाका ३ घर र धनकुटा नगरपालिका १ हिलेका २ घर विस्थापित भएका हुन । पहिरोका कारण धनकुटा १ हिलेका डिल्ली घिमिरे र तेजबहादुर पौडेलको परिवार विस्थापित भएको धनकुटा प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिएका छन् । यस्तै पहिरोका कारण महालक्ष्मी नगरपालिका वडा नं. ५ लेगुवाका दीपक भण्डारी, जितेन श्रेष्ठ र ब्रह्मध्वज राईको परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
यस्तै साँगुरीगढी गाउँपालिका–७ लेउती र गर्जुवा खोलामा आएको बाढीले दुवै खोलाको सङ्गम स्थलमा रहेको ९ घरपरिवारको बस्ती उच्च जोखिममा परेको छ । खोलामा आएको बाढीले घर नजिकै छेउको जमिन धमाधम कटान गरेपछि बस्ती जोखिममा परेको हो । खोलामा पानीको बहाव बढिरहेकोले त्रास पनि बढेको स्थानीय यामबहादुर राईले बताए । गर्जुवा खोलामा माटो सहित आएको बाढीले धरान–धनकुटा कोसी राजमार्ग समेत पटक पटक अवरुद्ध गरेको डिभिजन सडक कार्यालयका सुपरभाइजर अमृता राईले बताइन् ।
पानी पर्ने बित्तिकै गर्जुवाको सिरमा पहिलो जाने र सोही पहिरोको लेदो माटो खोलाले बगाउँदा राजमार्ग अवरुद्ध हुने गरेको छ । सोमबार दिउँसो खोलामा आएको बाढीले धरानबाट धनकुटा जाँदै गरेको धनकुटा नगरपालिकाको को १ झ ५८४ नम्बरको गाडीलाई आधा भाग पुरेको थियो । सडक डिभिजन कार्यालयले बाटोको पहिरो पन्छाउन परिचालन गरेको डोजरको सहायताले गाडी निकालिएको गाडीमा सवार धनकुटा नगरपालिकाका कार्यक्रम संयोजक सिताराम गौतमले बताए । पहिरोले छिन् छिनमै बाटो अवरुद्ध भइरहने र डोजरले खुलाउने काम भइरहेको छ ।