इटहरी : सुनसरीको रामधुनी नगरपालिका ७ तित्रुचौक देखी रहिपुर जाने बाटो मर्मत तथा ड्रेन निमार्ण गर्ने काममा अनियमितता भएको पाइएको छ । डेढ किलोमिटर लामो बाटो निमार्ण गर्न भनी उपभोक्ता समिति बाट भएको निमार्ण कार्यको सम्झौता मुताबिक काम नभएको हो ।

प्रथम नगर सभाको निर्णय अनुसार वडास्तरीय योजना पूर्वाधार विकास कार्यक्रम अन्तरगतको १० लाख बजेट बाट पक्की नाला निमार्ण गर्ने योजना स्वीकृत भएको थियो । आ.ब २०७४/७५ को स्वीकृत बजेटबाट रामधुनी तेत्रुचौक देखी रहिपुर जाने बाटोमा पक्की नाला निमार्ण गर्ने भनिए पनि आधा बाटो सम्म मात्र ड्रेन काम सम्पन्न भएको छ ।
नगरपालिकाबाट १० लाख र उपभोक्ता समितिबाट २ लाख गरी १२ लाखको प्राविधिक स्टिमेट अनुसार निमार्ण कार्य अगाडी बढाउन २०७४ फाल्गुन २० गते सम्झौता भयो । सम्झौतामा २०७५ ज्येष्ठ ३० गते सम्म काम सम्पन्न गरिसक्नुपर्ने उल्लेख छ । तर टिप्पणी आदेशमा भने २०७४ ज्येष्ठ ३० गते सम्पन्न गर्ने सहमति भएको र सम्झौता भएको मिति भन्दा अगाडी नै काम सम्पन्न भएको उल्लेख गरिएको छ ।

अग्रिम कर १.५ प्रतिशत, ढुवानी कर १० प्रतिशत, कन्सल्टेन्सी ३ प्रतिशत कट्टा गरी जम्मा १० लाख ९१ हजार ६ सय रुपैयाँ भुक्तानी भइसकेको छ ।
त्यस्तै अ.ब २०७५/७६ मा सोही बाटो ग्राभेल गर्न भनी ९ लाख रुपैयाँ बजेट विनियोजन भयो । वडा स्तरीय योजना पूर्वाधार विकास कार्यक्रम अन्तरगत बाटोको स्तर उन्नति गर्ने काम भएको हो ।

Ramdhuni-Sadak-2

नगरपालिकाको ९ लाख र उपभोक्ता बाट सङ्कलित १ लाख ८० हजार गरी जम्मा १० लाख ८० हजारमा ग्राभेल गर्ने काम भनिएको थियो ।
तर स्थानीयका अनुसार बाटोमा केही ट्याक्टर मिसगिटी हालेर बजेट सिध्याइयो । कामनै नभई भुक्तानी भएको विषयमा आफूहरूले बारम्बार विरोध गरेपनि सुनुवाइ नभएको स्थानीय युवा जगत राईले बताए । ड्रेन बनाउने देखी ग्राभेल गर्न काममा भ्रष्टाचार भएको उनको भनाइ छ । उनका अनुसार दुईतिर नाला बन्नुपर्ने हो त्यो पनि भएन, उता ग्राभेलको काम समेत गुणस्तरहीन भएको पाइयो । त्यतीमात्रै हैन सोही मार्गमा उपभोक्ता समितिबाट ४० हजार र नगरपालिका बाट आएको १ लाख बजेटमा कुनै कामनै नभई पैसा लिइएको उनले जानकारी दिए ।

सोही विषयलाई लिएर दुई आर्थिक वर्षको बजेट बाट २२ लाख ८० हजार र नगर कार्यपालिकाको निर्णय बमोजिमको १ लाख २५ हजार गरी २४ लाख ५ हजारको बजेटबाट बनेको बाटोमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । स्थानीय ७ जना युवाले भ्रष्टाचारको ठहर भएको भन्दै उजुरी दिएका हुन् । दर्ता नम्बर ००११३२ मा सो उजुरी दर्ता भएको पाइएको छ ।

उता दुइवटै कामको उपभोक्ता समिति अध्यक्ष समेत रहेका चमरु चौधरीले समयमै काम सम्पन्न गरेको र कुनै अनियमितता नभएको बताए । पछिल्लो समय ठुला गाडी कुद्ने भएकोले बाटो भत्किने थालेको उनको भनाइ छ । आफूहरूले सम्झौता अनुसार नै काम गरेको र नयाँ आउने आगन्तुकले आरोप लगाएको उनी बताउँछन् ।
वडाध्यक्ष केशव गौतमले पनि काम भएरै भुक्तानी लिइएको बताए । बाटो ग्राभेल भएको लामो समय भएकोले काम नभएजस्तो देखिएको उनको भनाइ छ ।